
भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत भैरहवाकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उनका बुवा सुनिल लम्साल छोरीको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न अपिल गरेका छन् ।
भारतीय समाचार एजेन्सी एनएआईसँग कुराकानी गर्दै उनले न्यायको माग गरे । ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना आफूले पाएको उनले बताए । उनले भने, ‘हामीलाई यति सूचना छ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन । आधिकारिक रुपमा अरू केही पनि भनिएको छैन ।’
Advertisement

Advertisement
Advertisement

आफू आएपछि विश्वविद्यालयले समन्वय गरिरहेको उनको भनाई छ । ‘हिजो युनिभर्सिटीसँग कुरा भएको थियो । उनीहरूले आधिकारिक त केही पनि बताएनन् । तर कोअपरेट गरिरहेका छन्,’ लम्सालले भने, ‘प्रहरी–प्रशासनले पनि सहयोग गरिरहेको छ ।’ सोही विश्वविद्यालयमामा अध्ययन गर्ने प्रकृतिका दाइ पर्ने सिद्धान्त सिग्देलले घटनापछि उनलाई फोन गरेर बोलाएपछि आफु आएको उनले बताए ।
‘उसको दाइ पनि यहीँ पढ्छ । उसले फोन गरेर छिटो आउनुस् भन्यो । डेथ भएको भनेर चाहिँ भनेन । आउनुस् मात्र भन्यो । हामी निस्किहाल्यौँ । अस्ति साँझ ५ बजे चाहिँ मृत्यु भइसकेको भनेर थाहा भयो’, उनले भने,‘प्रहरीले एक जनालाई समातेको छ । सायद उसैको कारणले होला । फेरि पुलिस–प्रशासनसँग कुरा हुन्छ । त्यसपछि थाहा होला । छोरीको ल्यापटप, मोबाइल, डायरीहरू फरेन्सिकमा लगेको छ । त्यसबाट पनि धेरै कुरा थाहा होला ।’
यहाँको कानूनी प्रक्रिया सकेर छोरीको शव नेपाल लैजाने उनले बताए । ‘लिएर त जानै छ । तर प्रोसिडियर हुन्छ । एउटा देशबाट अर्को देश लैजाने कुरा हो । सकेसम्म आज भए आज नभए भोलि लैजाने प्रयास छ ।’ उनले भने ।
दोषीलाई कारबाही हुनुपर्ने भन्दै घटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेकोमा उनले दुख व्यक्त गरे । उनले भने, ‘नेपाली विद्यार्थीलाई लखेटेको रहेछ । यो ठिक होइन । चाहिएको बेलामा आउनुस् भन्ने, केही घटना हुनासाथ जानुस् भन्ने । टाढाबाट आएका छन् । उनीहरूलाई जान गाह्रो हुन्छ । यस्तो गर्नु हुँदैनथ्यो ।’
अब तपाईँहरुको माग के छ ? भन्ने पत्रकारको प्रश्नमा लम्सालले भने, ‘हाम्रो माग न्याय हो । अरु केही होइन । मात्र न्याय ।’

