
काठमाडौ, ९ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाराका तत्कालीन अधिकृत दीनानाथ मिश्र र मालपोत कार्यालयका अधिकृत सुमनप्रसाद चौधरीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
एक कठ्ठा जग्गालाई तीन कठ्ठा बनाई किनबेच गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अख्तियारले मालपोत कार्यालय, बाराका अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय, बाराका तत्कालीन नापी अधिकृत तथा हाल अवकाशप्राप्त दिनानाथ मिश्र, तत्कालीन सर्वेक्षक तथा हाल नापी कार्यालय, पर्सामा कार्यरत शिवबालक साह, तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, जितपुरसिमरा–१३ का लेखापढी व्यवसायी जयलाल सहनी, वडा नं. १५ बस्ने जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र रामपति देवी थरुनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
बाराको साविक डुमरवाना गाविस वडा नं. ६ क को क्षेत्रफल ज.बि. ०–१–० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०–३–१० कायम गरी मिलेमतोमा बिक्री गरेको पाइएको अख्तियारले अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ। त्यस्तै क्षेत्रफल ज.बि. ०–२–१० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०–६–० कायम गरी नापी कार्यालय, बारा र मालपोत कार्यालय, बारा समेतको मिलेमतोमा श्रेस्ता पूर्जा तयार गरी ठगी गरेको अनुसन्धानको क्रममा देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार प्रत्येक प्रतिवादीलाई एक लाख पचास हजार रुपैयाँ जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

