


भैरहवा, ९ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा बाँकेले जित निकालेको छ। शुक्रबार भएको खेलमा कपिलवस्तुलाई ६९ रनले पराजित गर्दै बाँकेले जित निकालेको हो।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको बाँकेले निर्धारित ५० ओभरमा ३६ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ५६ रन योगफल बनायो। जसका लागि रोशन केसीले अविजित ४५ रन जोड्न सफल भए। यस्तै, सुनिल भण्डारीले ४५, सादब अन्सारीले १५ र समसुद्दिन अन्सारीले ११ रन बनाए। बलिङमा कपिलवस्तुका राज अग्रहरीले ६, महेश भर र प्रयासदेव गैरेले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कपिलवस्तु २४ ओभर १ बलमा अलआउट हुँदै जम्मा ८७ रन मात्रै बनायो । उसलाई सस्तैमा समेट्नका लागि बाँकेका विजय चौधरीले ५ र सिद्धान्तराज शाहीले ३ विकेट लिए। कपिलवस्तुका शिवकुमार मौर्यले २०, शिव कुँवरले १७ र प्रतीक भट्टराईले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। खेलमा बाँकेका विजय चौधरी प्लेयर अफ द म्याच भए ।
अगामी फागुन २५ देखि भैरहवाको सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सुरु भएको हो ।
रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए ।

