
भैरहवा, ११ फागुन। स्वास्थ्यको लागि हिडाइ भन्ने उद्देश्य राख्दै आएको भैरहवाको जगर्श ग्रुपले रक्तदान कार्यक्रम तथा मृगौला बिरामीलाई सहयोग प्रदान गरेको छ ।
ग्रुपको भैरहवाको बुद्धचोक स्थित सचिवालयमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक रमेश घिमिरेले बताए । उक्त कार्यक्रममा १० जना भन्दा बढी युवतीहरुले समेत रक्तदान गरेको उनले जनाए ।
Advertisement

Advertisement
Advertisement

शनिबार बजारमा बिहानै देखि धेरै कार्यक्रमहरु भएता पनि रक्तदाताहरुले उत्साहपूर्वक रक्तदान गरेको र महिलाहरु समेत उल्लेख्य रुपमा सहभागिता भएको जगर्श ग्रुप भैरहवाका अध्यक्ष प्रियबन्धु न्यौपानेले बताए । कार्यक्रममा बि पोजिटिभ रक्त समुहको रगत आवश्यक भएका एक बिरामीका आफन्तले रक्तदान स्थलबाटै रगत लिएर बिरामी उपचारत रहेको अस्पतालमा गएका थिए ।
हाल रगतको आवश्यकता बढी रहेको हुँदा संघसंस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गर्न आवश्यकता रहेको जगर्श ग्रुपका संस्थापक अध्यक्ष अनिल उपाध्यायले बताए । संकलित रगत कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटीको रक्त सन्चार केन्द्र युनिभर्सल मेडिकल कलेज भैरहवालाई हस्तान्तरण गरिएको थियो ।
रक्तदाता सबैलाई रक्तदान गरिएको प्रमाणपत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा दुबै मिर्गौला खराब भएर लामो समय देखि बुटवलमा डाइलासिस गराउँदै आएका सियारी गाउपालिका वडा नम्बर ५ का ३६ वर्षीय सुदर्शन खनाललाई ११ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।

खनाललाई जगर्श ग्रुपका संस्थापक एवं संरक्षक हरीचन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष अनिल उपाध्याय, जगर्शका अध्यक्ष प्रियबन्धु न्यौपाने, उपाध्यक्ष थिरेन्द्र कुमार श्रेष्ठ, सचिव अनिल न्यौपानेले सहयोग हस्तान्तरण गरेका थिए।

