
नवलपरासी पश्चिम, १३ फागुन। नवलपरासी पश्चिम जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा दुई समूहबीच झडप भएको छ ।
प्रेम सम्बन्धको विषयमा केटा र केटी पक्षबीच झडप हुँदा सर्वसाधरण र प्रहरी घाईते भएका छन् । झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा आगजनी गरेको र घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

स्थानीयहरुका अनुसार सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा अर्को पक्षको समूहले गरेको कुटपिटको विषयमा मंगलबार केटा पक्षका समूह कुटपिटको कारण सोध्दै बिहान केटीको आफन्तको घरमा पुगेपछि दुई समूहबीच झडप सुरु भएको हो।

दुई समूहबीच झडप भइरहँदा गाडीको ठक्करबाट दुईजना घाइते भएपछि स्थित तनावग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए। उनका अनुसार आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरेको र ११ जना प्रहरी घाइते भएका छन् । उनले स्थितीलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर र ५ सेल अश्रुग्याँस प्रहार गरिएको क्लिक लुम्बिनीलाई बताए ।
झडपका क्रममा अन्य ३ जना सर्वसाधारण र चारजना सशस्त्र प्रहरी पनि घाइते भएको बताइएको छ । टाउको र छातिमा चोट लागेर पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारत उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्थितीलाई नियन्त्रणमा लिन रुपन्देही प्रहरीको बल थप मद्दतमा गएको थियो ।

आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको र अन्य खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलको अवस्था सामान्य रहेको एसपी फुयालले बताए।

