
बुटवल,१८फागुन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रुपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनको धारणा छ ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेपनि प्रभावकारी नतिजा ल्याएको उल्लेख गरे ।
Advertisement

Advertisement
Advertisement

अनुसन्धान प्रक्रियालाई अझ परिस्कृत गर्दै नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। ‘प्रहरीले गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी छ।अहिले धेरै साईबर अपराध हुन थालेका छन्, तसर्थ अनुसन्धान प्रविधि मैत्री हुनुपर्छ’,उनले भने–‘प्रहरीले अध्ययन, अनुसन्धानको लागि प्रविधिको प्रयोग बढाउन जरुरी छ।’
लुम्बिनी प्रदेशका ६ जिल्लाहरु भारतसँग सीमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उनले बताए। सीमाबाट अपराधीहरु सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने उनको जोड थियो। लागूऔषध ओसारपसार, साइबर अपराध, सीमा दुरुपयोग र अन्य नवीनतम सुरक्षा चुनौतीहरुको गम्भीर विश्लेषण आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
उनले खुला सीमाका कारण राजस्व चुहावट भइरहेको र तस्करीलाई निरुत्साहित गर्न प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने बताए । कुखुरा, अण्डा, चल्ला, दूधलगायतका वस्तु खुला सीमाबाट भित्रिने कारण नेपाली किसानहरु मर्कामा परेको उल्लेख गर्दै उनले नियन्त्रणका लागि प्रहरी प्रशासनले प्रभावकारी योजना बनाउनुपर्ने सुझाव दिए ।
गोष्ठीमा नेपाल प्रहरीका उच्च अधिकारीहरु, अपराध अनुसन्धान विशेषज्ञ तथा लुम्बिनी प्रदेश प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको छ।कार्यक्रममा अपराध अनुसन्धानका चुनौतीहरु, अनुसन्धान प्रविधि र सुरक्षा रणनीतिबारे छलफल हुने बताइएको छ।

