
भैरहवा,१९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेदहरु छलफल गरेर पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन्।
भैरहवामा आयोजित कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जीवन्त र भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उल्लेख गरे।
Advertisement

Advertisement
Advertisement

‘हाम्रो बीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छ।कतिपय कुराहरु नमिल्या हुन सक्छ। यी सबैकुरालाई आपसमा छलफल, मेलमिलाप, विश्वास र कुराकानी गरेर मतभेद हटाउनुपर्छ’, उनले भने, ‘कांग्रेसलाई हिजो भन्दा अझ ठूलो पार्टी बनाउनुपर्छ।’
उनले लोकतन्त्र/प्रजातन्त्रमा प्रतिपक्षी पार्टीको धैरै भूमिका हुने बताए । ‘हाम्रो देशमा लोकतन्त्र, प्रजातन्त्र छ, यो अत्यन्तै समावेशी, समानुपातिक र विपक्षी दलसहितको व्यवस्था बनेको छ, ’देउवाले भने । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमको आयोजना तथा कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यमा सुरु भएको कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।
नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा आएका छन् । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुने बताईएको छ।

