
परासी, २० फागुन। नवलपरासी पश्चिम प्रहरीले धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ । अदालतबाट दोषी ठहर भएर कैद वा जरिवाना वा दुवै सजाएको फैसला पश्चात सजाए भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समययता प्रहरीले धमाधम पक्राउ गरिरहेको हो ।
पछिल्लो २३ दिनमा मात्रै विभिन्न मुद्दाका ३७ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । यस्तै प्रहरीले डाँका मुद्दामा ३२ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पनि समातेर कारागरमा पुराएको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका-१३ का राम बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार जिल्ला अदालत नवलपरासीले ०४९ भदौ १८ गते डाँका मुद्दामा गुरुङलाई दोषी ठहर गर्दै पाँच वर्ष दुई महिना पच्चीस दिन कैद र दुई हजार नौ सय सात रुपैयाँ जरिवाना सजाएको फैसला गरेको थियो ।
त्यसपश्चात फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नारायण थापाले जनाए ।
पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराएर सजाए भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।
‘फौजदारी अपराधको कसुर ठहर भएर सजाए पाएका व्यक्तिहरु समाजमा घुमिराख्नु शान्ति सुरक्षामा चुनौतीको विषय हो’,जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक शिव क्षेत्रीले भने, ‘जसप्रति अभियान नै चलाएर हामी निर्मम रुपमा उत्रिएका छौँ ।’ प्रहरीले अदालतबाट फैसला भएका फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ ।
दशकौँ अघिदेखि फरार प्रतिवादीको हुलिया, व्यक्तिगत पहिचान, पेशा, ठेगाना लगायत परिवर्तन गरेर बस्ने गरेकोले उनीहरुलाई पक्राउ गर्नमा चुनौती रहेपनि जिल्लासँगै विभिन्न प्रहरी युनिटबाट अहोत्र खटिएर कार्यसम्पादन भइरहेको उनी बताउँछन् ।
कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने उद्देश्यले चलाइएको अभियान अन्र्तगत धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गरेर सजाए भुक्तानका लागि अदालतमा पेश गर्ने कार्य भइरहेको उनले बताए ।

