


कञ्चनपुर, २० फागुन। कञ्चनपुरमा अजिङ्गर सर्पको संख्या बढ्न थालेको छ। सिमसार क्षेत्र संरक्षण हुन थालेसँगै जिल्लाको बेलौरी र पुनर्वास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन्।
स्थानीयहरुका अनुसार वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने थालेका छन् । पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट ५६ वटाभन्दा बढी अजिङ्गरको उद्दार गरी सुरक्षित रुपमा प्राकृतिक बासस्थानमा छाडिएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए।

चालु आर्थिक वर्षको साउन देखि यता नौ वटा अजिङ्गरको उद्दार गरी सुरक्षित रुपमा छाडिएको छ। उद्दार गरिएका अजिङ्गरको लम्बाइ तीन मिटरदेखि पाँच मिटरसम्म र तौल ३० किलोग्रामदेखि ६० किलोग्रामसम्म रहने गरेको छ।
उनले उत्तरमा लालझाडी वन क्षेत्र, दक्षिणमा भारतीय दुधवा नेशनल पार्क, पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र भएकाले बेलौरी र पुनर्वासमा बढी अजिङ्गर सर्प फेला पर्ने गरेका बताए।

