
लुम्बिनी, २० फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन संकाय अन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेका हुन् । क्यालिफोर्नियाबाट छोटो अवधिको बौद्ध अध्ययनका लागि आएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदानका लागि आयोजित कार्यक्रममा उनले केही सातामै भर्ना प्रक्रिया सुरु गर्ने जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विश्वविद्यालयले क्यालिफोर्नियामा बौद्ध अध्ययनका शैक्षिक कार्यक्रम सञ्चालनका लागि इन्लाइट इन्टरनेशनल जेन मेडिटेसन सेन्टरसँग सहकार्य सम्झौता गरेको छ । सोही सेन्टरबाट छोटो अवधिको शैक्षिक कार्यक्रमका लागि २५ जना विद्यार्थी लुम्बिनी आएका हुन् । उनीहरुले दुई क्रेडिटको कक्षा लिएका छन् ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि ४० भन्दा बढी संस्थाहरुसँग सहकार्य सम्झौता गरी अघि बढेको बताए । उनले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणा अनुसार स्थापित भएको विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि अध्ययन केन्द्रहरु स्थापना गर्दै जाने बताए ।
बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले छोटो अवधिको शैक्षिक कार्यक्रममा विदेशी विद्यार्थीहरुको आर्कषण बढ्दै गएको बताए । अमेरिकाका विद्यार्थीहरुले बौद्ध अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय रोजेको भन्दै उनले धन्यवाद दिए । यसअघि चिनियाँ विद्यार्थीको टोलीले छोटो अवधिको बौद्ध अध्ययन गरेको थियो ।
इन्टरनेशनल जेन मेडिटेसन सेन्टर क्यालिफोर्नियाकी प्रमुख भिक्षुणी ज्यु नेले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा आफूहरु उत्साहित भएको बताइन् । उनले बौद्ध शिक्षाको विकासका लागि आफूहरुले सहकार्यमा काम गर्दै जाने बताइन् ।

छोटो अवधिको शैक्षिक कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका विश्वविद्यालयका सह–प्राध्यापक डा. सागर न्यौपानेले छोटो अवधिमा विदेशी विद्यार्थीहरुको आकर्षण देखिएको भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा घुम्न आउने अध्येताहरुले छोटो अवधिको शैक्षिक कार्यक्रम लिन सक्ने भएकाले यसले फाइदा हुने उनले बताए ।
विश्वविद्यालयले बौद्ध अध्ययन संकाय अन्तर्गत विभिन्न छोटो अवधिका शैक्षिक कार्यक्रमहरु घोषणा गरेको छ । तीन दिनदेखि १५ दिनसम्मका शैक्षिक कार्यक्रमहरु प्राज्ञिक परिषद्बाट स्वीकृत गरी लागू गरिएको डिन शाक्यले बताए । व्यक्तिगत तथा समूहगत रुपमा छोटो अवधिको बौद्ध अध्ययन गर्न सकिने उनले बताए । बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम डिजाइन गरिएको छ ।

