
लुम्बिनी, २२ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ३८ जना विदेशी विद्यार्थी भर्ना भएका छन् । चालु शैक्षिक सत्र मा भर्ना भएका उनीहरुलाई विश्वविद्यालयले एक कार्यक्रमकाबीच स्वागत गरेको छ। भर्ना भएका विद्यार्थीमध्ये ३५ जना चिनियाँ, दुई जना भारतीय र एक जना मलेसियन रहेको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्य, योजना तथा मूल्यांकन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले विद्यार्थीहरुलाई एडमिसन अफर लेटर प्रदान गरेर स्वागत गरे।
Advertisement

Advertisement
Advertisement

चालु शैक्षिक सत्रमा स्नातकोत्तर तहमा ३७ जना र स्नातक तहमा एक जना विद्यार्थी भर्ना भएको देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काले जानकारी दिए। स्नातकोत्तर तह अनुवाद तथा व्याख्या विषयमा चीनका ८ जना र भारतका एक जना विद्यार्थी रहेका छन्। त्यस्तै स्नातकोत्तर तह बुद्धिजम एण्ड नेपाल स्टडिजमा २७ जना चीन र एक जना मलेसियाका विद्यार्थी रहेका छन् । त्यस्तै स्नातक तह बिटिसिएसओलमा एक जना भारतका विद्यार्थी भर्ना भएका छन् ।
कार्यक्रममा बोल्दै बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले लुम्बिनीमा बसेर बौद्ध अध्ययनसहितका विषयहरु पढ्न पाउनु विदेशी विद्यार्थीका लागि निकै महत्वपूर्ण भएको बताए। उनले विदेशी विद्यार्थी भर्नाका लागि विश्वविद्यालयले सहजीकरण गरिएको बताउँदै लामो तथा छोटो अवधिका विषयहरु पढ्न सकिने उनले जनाए।

विश्वविद्यालयले विदेशी विद्यार्थीहरुको सुबिधाका लागि अन्तर्राष्ट्रिय स्तरको छात्रावास निर्माणको थालनी समेत गरेको छ। विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै विदेशी विद्यार्थी आकर्षण गर्ने योजना विश्वविद्यालयले बनाएको छ।
विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधिमा विदेशी विद्यार्थीहरु भर्ना हुँदै आएका छन्। विद्यावारिधिमा विदेशीका लागि दश जनाको कोटा निर्धारण गरी भर्ना खुलाईएको डिन कार्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै विद्यार्थी यु च्याच्याले लुम्बिनीमा अध्ययन गर्न पाउँदा आफू उत्साहित भएको बताए। ‘मैले विश्वविद्यालयमा भर्ना पाए । म निकै खुसी छु, उनले भनिन् । नेपाल र चीनबीचको प्राचिन सम्बन्धलाई स्मरण गर्दै आफूहरुले बुद्ध जन्मस्थलबाट महत्वपूर्ण शिक्षा हासिल गर्ने विश्वास व्यक्त गरिन्।
त्यस्तै क्रिञ्जल वर्नवालले विश्वविद्यालयमा अध्ययन गर्दा आफू निकै उत्साहित भएको बताइन्। भारतको गुजारत घर भएकी उनी स्नातक तहमा बिटिसिएसओल अध्ययनका लागि विश्वविद्यालयमा भर्ना भएकी हुन्। विदेशी विद्यार्थीहरुले छात्रावासमा बसेर अध्ययन गरिरहेका छन्। लुम्बिनीमा विश्वविद्यालयले छात्र र छात्राहरुका लागि छुट्टाछुट्टै छात्राबास सञ्चालन गरहेको छ ।

