


काठमाडौं, २२ फागुन। काठमाडौंको साँखुस्थित एक अनाथालयमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ। अनाथालय मानिस सुतिरहेको बेला शुक्रबार बिहान ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर अनाथालयको कोठामा छिर्दा घटना भएको प्रहरीले जनाएको छ।
टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ कै सुमन, ४५ वर्षीय हरिजन नामक व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटार स्थित साँखु ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची १२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा अनियन्त्रि भइ छिरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए।
उक्त अनाथालय युबराज थापाले संचालन गर्दै आएका छन्। टहरामा जम्मा ६१ जना बस्छन्। टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए।
मृतकको माथि उल्लेखित नाम संस्थाले नै राखेको हो। उनीहरुको अन्य विवरण नखुलेको प्रहरीको भनाइ छ। टिपरको ठक्करबाट घाइते भएका ती व्यक्तिलाई तत्काल उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको थियो। तीनै जनालाई अस्पतालले मृत घोषणा गरेको हो।
टिपर र चालकलाई हाल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

