


काठमाडौ, २६ फागुन। नेकपा माओवादी केन्द्रले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ। खुमलटारमा सोमबार बसेको माओवादी केन्द्रका पदाधिकारी बैठकले प्रतिगामीहरु सक्रिय भएपनि नेपाली जनतालाई धेरै प्रभाव नपरेको बैठकले निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जनाए।
उनले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको बताए। संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरुले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको उनको भनाई छ ।

उनले अहिलेको संविधान र व्यवस्थाप्रति केहि प्रश्न उठेपनि त्यसको समाधान समेत रहेको धारणा राखे। बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरुमा माओवादीले सशक्त भूमिका निर्वाह गर्ने र जनताका समस्याहरुलाई उजागर गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए।
त्यस्तै पार्टीले बृहत जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति भए अर्को बैठकले तय गर्ने जानकारी दिए। बैठकमा जनतासँग माओवादी अभियानको प्रारम्भिक समीक्षा भएको र झापा देखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरको उनले बताए। हाललाई स्थगित गरिएको अभियान अर्को महिना पुन सुरु गर्ने पार्टीले जनाएको छ।

