


बुटवल, २६ फागुन। रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.ले बाग्लुङको बरेङमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरेको छ। बरेङ गाउँपालिका-३ बाटाकाचौर नयाँ बजार स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढी स्थानीय लाभान्वित भएको बुटवल हस्पिटलले जनाएको छ। शिविरमा विशेषज्ञ चिकित्सकहरुसँगै ल्याब सेवा तथा औषधी समेत उपलब्ध गराइएको थियो।
शिविरको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर, धनमुडा चौर समाज बुटवलको आयोजना तथा एक सय बेड सञ्चालन अनुमति पाएको बुटवल हस्पिटल प्रालिको प्राविधिक सहयोग रहेको थियो । शिविरको उद्घाटन गर्दै बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले गाउँघरमा रोग लुकाएर बसेका बिरामीहरुले यस्ता शिविरबाट रोग पहिचान भइ औषधी उपचार पाउनुका साथै ज्यानै बचाउने काम हुने बताए। उनले सकारात्मक सोचका साथ गरिने शिविरबाट धेरै फाइदा लिन सकिने बताए ।

उक्त अवसरमा धनमुडा चौर समाज बुटवलका अध्यक्ष देव थापाले आफूहरु बसाईसराई गरी तराईमा बसे पनि आफ्नो जन्मस्थानमा निःशुल्क शिविर मात्र नभएर अन्य समाज सेवाका कार्यक्रम राख्न हरेक समय तयार रहेको बताए ।
शिविरमा दम, आँखाका बिरामीहरु बढी भेटिएको बुटवल हस्पिटलले जनाएको छ। उनीहरुलाई औषधी तथा चश्मा निःशुल्क वितरण गरिएको छ। बिरामीहरुले आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरबाट सेवा लिन पाएको भन्दै खुसी व्यक्त गरे।
शिविरमा बुटवल हस्पिटल प्रालिका वरिष्ठ ग्याष्ट्रोलोजिष्ट डा.पुष्पराज ढकाल, हाडजोर्नी तथा नशारोग विशेषज्ञद्वय डा. उत्सव रेग्मी, डा.संजीव आचार्य, वरिष्ठ जनरल फिजिसियन डा.सागर पौडेल, बालरोग विशेषज्ञ डा. प्रदिप शर्मा, डा.सुनिल सुनार, डा.दीपक ढकाल, डा.उमेश बेल्बासे, डा.प्रविना कुँवर, डा. अमृत बस्याल, डा.हरिराम पन्थी, डा.प्रतिक सापकोटा लगायत ल्याब टेक्निसियन समूह तथा औषधी वितरक समूह र बाटाकाचौर स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थकर्मीहरुको विशेष भूमिका रहेको थियो ।शिविरको बुटवल हस्पिटल प्रालिको तर्फबाट मेडिकल कोर्डिनेटर राजु पौडेल र मार्केटिङ म्यानेजर सुमन तिमिल्सिनाले संयोजन गरेका थिए।

शिविर वडा नम्बर ३ मा आयोजना भए पनि बरेङ गाउँपालिकाभरका बिरामीहरुले सेवा लिएका थिए ।सो अवसरमा वडाअध्यक्ष शेर बहादुर खनालले आफुले वडाको तर्फबाट गर्न लागेको शिविरलाई बृहत बनाउन बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेल र धनमुडा चौर समाजका अध्यक्ष देव थापाको टिमले ठूलो भुमिका निर्वाह गरेको बताए ।
शिविर सञ्चालनमा सहयोग गर्ने धनमुडा चौर समाज बुटवल, बुटवल हस्पिटल प्रालि, हाम्रो स्वास्थ क्लिनिक, मल्टिस्टार, आले डेण्टल लगायतका संस्थाका प्रतिनिधिहरुलाई वडा कार्यालयले सम्मान गरेको थियो ।

