


भैरहवा, २९ फागुन। सामाजिक क्षेत्रमा काम गर्दै वीर फाउण्डेसन नेपालले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । फाउण्डेसनको अध्यक्ष विजया खत्रीले आफ्नो वुवाको वार्षिक पुण्यतिथिमा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेकी हुन्।
उनले बुधबार रुपन्देहीको एक र चितवनका चार गरी पाँचजना छात्रालाई जनही ३ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेकी हुन् । साथै, पाँचैजनालाई शैक्षिक सामग्री समेत उपलब्ध उनले बताइन्।

‘बुवा स्वर्गीय वीर बहादुर खत्रीको नामबाट स्थापना भएको वीर फाउण्डेशन नेपालले समुदायमा रहेर काम गर्दै आएको छ। साथै बुवाको वार्षिक पुण्यतिथिमा प्रत्येक वर्ष जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएका छौं’,उनले भनिन्। यस वर्ष स्नातक तहमा अध्ययनरत एक र प्लस टु मा अध्ययनरत चार जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको खत्रीले बताइन्।
छात्रवृत्तिवापत उपलब्ध गराइएको रकम र शैक्षिक सामग्रीले विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् । आगामी वर्षमा पनि यो कार्यलाई निरन्तरता दिदै जाने उनको भनाइ छ।०८१ सालमा स्थापना भएको फाउण्डेशनले विभिन्न संघ–संस्था, स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै बालबालिका, महिला, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको छ।

