
लुम्बिनी, १ चैत। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सकिएको छ। मायादेवी मन्दिर परिसरमा पाँचसय जनालाई बौद्ध धर्मगुरुहरुबाट चीवर दान गरी सुुरु भएको क्लपुत्र प्रबज्या ५ सय नवश्रामणेरलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम सकिएको हो।
प्रबज्या समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले भिक्षु प्रबज्या कार्यक्रमले बौद्ध संस्कृतिको संरक्षण र संवद्र्धन गर्न मात्र नभई विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन सहयोग पुगेको बताए। उनले नयाँ भिक्षुहरुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेष गरी युवा पुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रबज्या कार्यक्रम महत्वपूर्ण रहेको बताए।
Advertisement

Advertisement
Advertisement

गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै उनले शान्तिका लागि बुद्धको सन्देश विश्वभर लैजान विश्व समुुदायलाई आग्रह समेत गरे। यसअघि लुम्बिनी परिसरमा भिक्षाटन र लुम्बिनीमा ७ हजार दीप प्रज्वलन, देवदह, बुटवल र रामग्रामदेखि लुम्बिनी धम्मयात्रा सम्पन्न भएको छ भने शनिबार भैरहवामा धम्मयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ ।
व्यवहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाउने प्रबज्यामा भिक्षु बन्न इच्छुक व्यक्तिहरु सहभागी भएका थिए। सन् २०११ मा १ हजार जना, २०१५ मा १ हजार १ सय १२ जना, २०१९ मा १ हजार १ सय १९ जना, २०२३ मा ५ सय र सन् २०२४ मा १ हजार २ सय ५० जनालाई प्रव्रज्या गराइएको थियो भने यसवर्ष ५ सय जनालाई प्रव्रज्या गरिएको छ ।
थाईल्याण्डको धम्मकाय फाउण्डेशनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा कार्यक्रम भएको थियो।

