


काठमाडौ, ४ चैत। गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थीत बनाउन कानुन बनाउन लागिएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै मन्त्री लेखकले हाल सरकारको निर्णयका आधारमा पूर्वविशिष्टलाई सेवा सुविधा दिइँदै आएकोमा अब त्यसलाई व्यवस्थीत बनाउन कानुन बनाउन लागिएको जानकारी दिए।

सरकारले दिने सुविधानमा बैधानिक मापदण्ड नभएकाले कानुन बनाउन खोजिएको उनले बताए । उनले पूर्वविशिष्टलाई सेवा सुविधा दिँदा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस् भन्नेमा सरकार सचेत रहेको जिकिर गरे।
उनले पूर्वविशिष्टलाई दिने सेवा सुविधासम्बन्धी कानुन सदनमा प्रस्तुत हुने भएकाले सुविधा बढाउने वा घटाउने भन्ने विषय सरकारको नभइ संसदको विषय हुने बताए ।
मन्त्रिपरिषदको २०८१ पुष ९ गतेको बैठकबाट पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई प्रारम्भीक स्वीकृति प्राप्त भएपछि विधेयक तर्जुकाका लागि काम सुरु भइसकेको उनले जनाए।

