


काठमाडौं, ५ चैत। प्रहरीको काठमाडौंको टोखाको झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ ।
ना ७ ख १६५२ नम्बरको ट्रकबाट बरामद उक्त रकम डलर र युरो मुद्रा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। साथै घटनामा संग्लन आरोपमा प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका(१ का ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको जनाएको छ।

लामालाई बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो।

उक्त ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका लामा चालक भएर भरियाको रुपमा काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर, उनी कसको भरिया हुन् भन्ने खुलेको छैन।
यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल गएका थिए। जेलबाट छुटेपछि पनि उनले तस्करीको कारोबार छोडेनन्। उनले प्रहरीसँगको बयानमा आफू भरियाको रुपमा काम गर्दै आएको बताएका छन्। तर,उनले अहिले बरामद रकम कस्को हो भन्ने चाहिँ नखुलाएको प्रहरीले जनाएको छ।

