


भैरहवा, ६ चैत। लुम्बिनी प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। बिहीवार बिहान ८ बजेबाट सुरु हुने परिक्षामा प्रदेशमा ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुने भएका छन्। व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्न ३ सय ४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन हुने लुम्बिनी प्रदेश सरकारले जनाएको छ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी सबै पुरा भएको छ। ‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पुरा भएको छ’उहाँले भन्नुभयो,‘अव विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ।’

यस वर्ष रुपन्देही मा सबैभन्दा धेरै २२ हजार ९ सय ७५ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङ मा १४ हजार दुई सय ५४, कपिलवस्तुमा ९ हजार ४ सय ६१, बाँकेमा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन्। पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४०, बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुने प्रदेशको शिक्षा तथा सामाजिक विकास निर्देशनालयले जनाएको छ।
नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिनेछन्। यस्तै प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन्। परीक्षा निष्पक्ष र मर्यादित बनाउन ८ हजार ६ सय कर्मचारी परिचालन हुनेछन्। केन्द्राध्यक्ष ३ सय ४८ जना, सहायक केन्द्राध्यक्ष ६ सय ३४, निरीक्षक ४ हजार ७ सय ५८, सहायक ९ सय ५८ र कार्यालय सहयोगि १ हजार ९ सय २ जना परिचालन हुँदैछन्। परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ।
मुख्यमन्त्रीको अपिलः ढुक्क भएर परीक्षा दिनुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गरेका छन्। उनले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गरेका छन्। साथै, परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण तथा व्यवस्थित वातावरण कायम गर्न प्रशासन र सुरक्षाकर्मीहरुलाई प्रदेश सरकारले आवश्यक निर्देशन दिइसकेको जनाएको छ।

