
भैरहवा,१० चैत। जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस–कम्युनिष्टको हातमा शासन र शक्ति रहेसम्म यो देशको विकास हुन नसक्ने दावी गरेका छन् । जसपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै सम्भावना र संसारकै विकसित देश बन्ने आधार हुँदाहुँदै पनि काँग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था यस्तो भएको बताए ।
विगत ३५ वर्षदेखि यो मुलुकको शासन गरेका काँग्रेस–कम्युनिष्टले देशको अर्थतन्त्र धरासायी बनाएको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न नसकेको उनले आरोप लगाए ।
Advertisement

Advertisement
Advertisement

‘३५ वर्ष कम समय होइन । तर, गरीबी तथा रोजगारीको समस्या समाधान हुन सकेन । कुनै पनि क्षेत्रमा देशको विकास हुन सकेन, यो देशको शासन कसले गर्यो ? उही नै जिम्मेवार हो’,उनले भने । पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले काँग्रेस–कम्युनिष्टको शासनमा भ्रष्टाचार र कमिशनतन्त्र बढेको समेत आरोप लगाए । जनता शिक्षित र स्वस्थ भए मुलुक विकसित हुने उनको भनाइ छ ।
‘नेपालको अर्थतन्त्र मजबुत बनाउन कृषिको विकास आवश्यक छ, किसानको जीवनस्तर नउठाएसम्म गरीबीको अन्त्य हुँदैन । उद्योग, कलकारखानाले रोजगारी दिन्छ । तर त्यो पनि बन्द छ, शिक्षा र स्वास्थ्यमा व्यापार भइरहेको छ । काँग्रेस–कम्युनिष्टको गलत नीतिकै कारण यस्तो अवस्था आएको हो ’उनले भने ।
अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, पर्यटन र जलस्रोतको विकास गरी देशबाट गरीबी हटाउन सकिने जसपा नेपालको धारणा रहेको बताए । उनले विगतमा भएका आन्दोलनहरुले स्वतन्त्रता र अधिकार दिए पनि समानता भने हुन नसकेको बताए । ‘लोकतन्त्र भनेको नागरिक स्वतन्त्रता मात्र होइन समानता पनि हो’,उनले भने ‘समानताका लागि सबैलाई बराबर अधिकार दिनुपर्ने र भेदभाव हटाउनुपर्छ।’
त्यस्तै पार्टीका महासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माले वर्तमान सरकार सम्पूर्ण मोर्चामा असफल हुँदै गएको दावी गरे । उनले सरकार गठन अघि गरिएको प्रतिवद्धताबाट प्रधानमन्त्री केपी शर्मा ओली पछाडि हटेको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा जसपा नेपालकी नेतृ अम्बिका काफ्लेले संविधानमा भएका अधिकार पूर्ण रुपमा अझै पनि कार्यान्वयन हुन नसकेको बताइन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सावित्रा वि.क., लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिका, रुपन्देहीका अध्यक्ष विद्या प्रसाद यादव, जसपा नेपाल पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, समाजवादी विद्यार्थी युनियन नेपालका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव लगायतले बोलेका थिए ।
जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, जिल्ला उपाध्यक्ष कलामुद्दीन खाँको स्वागत तथा सचिव विष्णु प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङ, निलम यादवसहित विभिन्न पार्टी परित्याग गरी २ सय जना बढी जसपा नेपालमा प्रवेश गरेको पार्टीको रुपन्देही अध्यक्ष सियाराम यादवले बताए ।

