


भैरहवा, १४ चैत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपुतालीमा राजा भएको टिप्पणी गरेका छन्।
बिहीवार उनले सामाजिक संजाल फेसबुकमा स्ट्याट्स लेख्दै ज्ञानेन्द्रले अधिराजकुमार हुँदाका बेला पनि राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको आरोप पनि लगाएका छन्। यो कुरा पूर्वपञ्चहरुले नै त्यसबेला सार्वजनिक गरेका तथ्यमा पढ्न पाइने दाबी उनको छ।

‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ। अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्वपञ्चहरूले उनको गुनगान गाउनु बेग्लै कुरा हो’, उनले भनेका छन्, ‘तर आम जनताले त उनी अपुतालीमा राजा हुँदासमेत असहज मानेकै हुन्।’
केही समययता पूर्वराजा ज्ञानेन्द्र शाह फेरि राजा बन्न सक्रिय हुन थालेपछि राजनीतिक दलका नेताहरुले उनीविरुद्ध आक्रोश पोखिरहेका छन्। राप्रपालगायत राजावादी दल तथा समूहले राजसंस्था पुन:स्थापनाका लागि भनेर आन्दोलनको घोषणा गरेका छन्।

