


काठमाडौ, १४चैत। मुलुकको पहाडी क्षेत्रमा बसोबास गर्नेहरुले छाड्ने क्रम बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पहाडी क्षेत्रमा बसोबास घट्दै गएको छ भने तराई क्षेत्रमा निरन्तर बढ्दै गएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदनले उक्त स्थिति देखाएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए। उनले सबैभन्दा बढी स्थायी आन्तिरक बसाईंसराई गर्ने जनसंख्या पहाडमा रहेको बताए।
उनकाअनुसार पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरु सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाईं सरी अन्यत्र गएका छन् ।हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाईं सरेको उनले बताए। उनले बसाईं सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाईं सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाईं सरी गएको जानकारी दिए।
यद्यपी नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेको उनको भनाइ छ। उनले मुलुकमा सक्रिय उमेर समूह अर्थात काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत रहेको उल्लेख गरे। प्रतिवेदन सार्वजनिक गर्दै उनले १५ वर्षमुनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत रहेको बताए।
उनले अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको जानकारी दिँदै यही अनुपातमा जनसंख्या वृद्धि भएको अवस्थामा तराईले थेग्न नसक्ने बताए। समग्र मुलुकको प्रजनन दरमा समेत कमी हुँदै जाने तथ्यांकले देखाएको छ।राष्ट्रिय तथ्यांक कार्यालय एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय जनगणना २०७८ का पाँच वटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो। ग्रामिण क्षेत्रको कोरा जन्मदर १५.७ छ भने शहरी क्षेत्रको १३.६ रहेको छ।

