
लुम्बिनी,१६ चैत। लुम्बिनी बौद्ध विश्वविद्यालयले घरघरमा बुद्ध शिक्षा पुर्याउन अभियानको थालनी गरेको छ। समाजको सकारात्मक रुपान्तरणका लागि विश्वविद्यालयको बौद्ध अध्ययन संकायले ‘विद्यालयमा बौद्ध शिक्षा’अभियानको थालनी गरेको हो। अभियान अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले शुक्रबार लुम्बिनीमा स्थानीय जनप्रतिनिधिसँग विद्यालयमा बौद्ध शिक्षा विषयक अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले समाजमा विकृति, विसंगतिको अन्त्य गरी नैतिकवान नागरिक तयार गर्न बुद्ध शिक्षा अनिवार्य गर्नुपर्ने बताए। ‘हामीले विश्वविद्यालयमा मात्रै अध्ययन–अध्यापन गर्ने गराउने होइन। हरेक घरघरमा बुद्ध शिक्षा पुर्याउन खोजिरहेका छौं। यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ’,उनले भने।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बुद्धको शिक्षा जीवन रुपान्तरण गर्ने माध्यम भएको बताउँदै उनले यसलाई सबै नागरिकले अनुसरण गर्ने गरी कार्यक्रम बनाउन स्थानीय पालिकाका जनप्रतिनिधिसँग आग्रह गरे। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले बुद्ध शिक्षाको अध्ययन अध्यापन र अनुसरण गर्ने गरी उपमहानगरले कार्यक्रम बनाउने बताइन्। लुम्बिनीको उदारहरण दिँदै उनले भनिन् ‘हामीसँग हिरा छ। तर, हामी के खोजिरहेको छौं, हामीलाई थाहा छैन।’
बौद्ध विश्वविद्यालय यस क्षेत्रको गहना भएको उल्लेख गर्दै उपप्रमुख अर्यालले यसलाई संरक्षण सबैको दायित्व भएकोमा जोड दिइन् ।
कार्यक्रममा बौद्ध शिक्षाको महत्व र पाठ्यक्रमबारे प्रस्तुती दिदै लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले आधारभूत तहका विद्यार्थीलाई मध्यनजर गरी कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यक्रम बनाइएको जानकारी गराए। उनले लुम्बिनी क्षेत्रका सबै स्थानीय तहले अपनत्व लिएर यो अभियानलाई अघि बढाउनुपर्ने बताए।
डा. शाक्यले बौद्ध शिक्षा अभियान अन्तर्गत सामुदायिक विद्यालयका प्रधानाध्यापकसँगको अन्तरक्रिया पश्चातस्थानीय तहका प्रमुख जनप्रतिनिधि र शिक्षा शाखाका प्रतिनिधिसँग छलफल गरिएको बताए। लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख डा. नीर बहादुर गुरुङले बुद्ध शिक्षाका माध्यमबाट लुम्बिनीको महत्व समेत उजागर हुने भएकाले यसतर्फ ध्यान दिन स्थानीय तहलाई सुझाए।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बुद्ध जन्मस्थलसँग जोडिएको पालिका भएकाले अब बन्ने स्थानीय पाठ्यक्रममा बुद्ध शिक्षालाई प्राथमिकता दिने प्रतिवद्धता जनाइन्।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवाली, सम्मरीमाई गाउँपालिकाका रामदास गौड, लुम्बिनी साँस्कृतिक नगरपालिकाका लक्ष्मी पोखरेल र तिलोत्तमा नगरपालिकाका भूपति ज्ञवाली लगायतले पालिकाले छुट्टै नीति बनाएर बुद्ध शिक्षालाई समेट्नुपर्ने बताए। अभियान अन्तर्गत विभिन्न जिल्लामा चरणबद्ध रुपमा बैठक, छलफल र अन्तरक्रिया कार्यक्रम गरिने बौद्ध अध्ययन संकायले जनाएको छ।

