


उदयपुर, २० चैत। उदयपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटारी नगरपालिका ७ का २९ वर्षीय हरिबहादुर तामाङ, वडा नं ८ का १९ वर्षीय भक्तबहादुर तामाङ, २५ वर्षीय सोमकृष्ण राई, वडा नं ४ का २३ वर्षीय अनमोल मगर, २० वर्षीया आरती राउत, २३ वर्षीय शरदकुमार सुनुवार र १९ वर्षीय बिक्रम साशंकार रहेको प्रहरीले जनाएको छ।
लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनीहरुलाई १० हजार ४ सय ६३ वटा ट्याबलेट लागुऔषध र एक सय ग्राम गाँजासहित उनीहरुलाई कान्छी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङले बताए।

प्रहरीले उनीहरुको साथबाट ट्रुपेन ट्याबलेट चार हजार ४३१, स्पासपेन ट्याबलेट पाँच हजार ९१२ र टापेन्टा ट्याबलेट १२० गरी दश हजार ४६३ ट्याबलेट बरामद छ । साथै, उनीहरुले प्रयोग गरेको दुई वटा मोटरसाइकल, नगद दुई लाख ४७ हजार ७२० रुपैयाँ, ६ वटा मोबाइल फोनसमेत बरामद भएको डीएसपी दोङले बताए। उनीहरुलाई पक्राउ परेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

