
लुम्बिनी, २० चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन बुधबारदेखि लुम्बिनीमा सुरु भएको हो ।
सम्मेलनको एक कार्यक्रमकाबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उद्घाटन गरे। सो अवसरमा बोल्दै उनले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको सीपयुक्त हुन आवश्यक रहेको बताए। विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति विश्वव्यापी रुपमा काम गर्न सक्षम हुनुपर्ने उनको भनाइ थियो। योजना आयोगले प्रविधियुक्त शैक्षिक विकासमूलक योजनाहरु निर्माणमा अग्रसरता दिइरहेको उनले बताए।
Advertisement

Advertisement
Advertisement

उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन आयोजना गरिएको हो।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनको प्रयोगात्मक अभ्यासबाट नैतिकवान सीपयुक्त जनशक्ति तयार हुने बताए। उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले कोर बुद्धिजम र एप्लाईड बुद्धिजम दुई संकायात्मक शैक्षिक कार्यक्रम सञ्चालन गरी अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षणको काम गरिरहेको बताए।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरले बुद्धका शिक्षालाई विश्वव्यापी शिक्षणको गराउन आवश्यक देखिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयले त्यही लक्ष्य लिई काम गरेको बताए। सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले विश्वभरका विश्वविद्यालयलाई एक–अर्कामा जोड्दै स्वदेशी विश्वविद्यालयको विकासमा अनुदान आयोगको कार्य गरिरहेको बताए।
भारतको नालन्दा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अभयकुमार सिंहले मानव संसाधनको विकासमा बौद्ध दर्शन अनिवार्य शर्त रहेको भन्दै यसले अहिले आवश्यक रहेको नैतिकवान जनशक्ति उत्पादन गर्न सकिने बताए।
सिद्धार्थ विश्वविद्यालय भारतका उपकुलपति प्रा. कविता शाहले दीगो र आधुनिक शिक्षा विकासका लागि बौद्ध प्रज्ञा अनिवार्य भइसकेको बताइन्। नेपालका मध्यपश्चिम विश्वविद्यालय प्रा।डा। धु्रबकुमार गौतमले उच्च शिक्षालाई औद्योगिक जनशक्तिको आवश्यकतासंग जोड्दै विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याए।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले श्रमबजारसँग जोडेर गए मात्रै उच्च शिक्षाको प्रभावकारिता देखिने भएकाले त्यसतर्फ सबै विश्वविद्यालयको जोड हुनुपर्ने बताए।
त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले चौथो औद्योगिक क्रान्तिको चरणमा त्यस्तै क्षमताको मानव संसाधन उत्पादनको जिम्मेवारी विश्वविद्यालयमा रहेको बताए। राजर्षिजनक विश्वविद्यालय प्रा.डा.अमर प्रसाद यादवले स्थानीय औद्योगिक व्यवसायिक संघ–संस्थाहरुको सम्पर्कबाट विश्वविद्यालयले शैक्षिक कार्यक्रम चलाउँदा जनशक्ति खपत हुने सम्भावना बढी रहेको औल्याए।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले परम्परागत पूर्विय सभ्यतालाई अंगिकार गर्दा नैतिकवान जनशक्ति उत्पादन हुने भएकाले लुम्बिनी बौद्ध र संस्कृत विश्वविद्यालय सहकार्यमा अनुसन्धानमा जुट्न आवश्यक रहेको बताए।
विदुषी योगमाया हिमालय आर्युवेद विश्वविद्यालयका उपकुलपति डा। अर्जुन कार्कीले परम्परागत चिकित्सा पद्वतिको विकासका लागि प्राविधिक शिक्षालाई मूलधारमा राखेर अनुसन्धान आवश्यक देखिएको बताए। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवालीले सोवा रिग्पा मेडिसिन जस्ता विषयहरुलाई प्राथमिकतामा राखेर उच्च शिक्षा सञ्चालनमा जोड दिने समय आएको बताए।
मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले चौथो औद्योगिक क्रान्तिमा एक देशमै बसेर विश्वव्यापी काम गर्न सकिने अवस्था आउँदै गरेको भन्दै त्यसको व्यवस्थापकीय पक्षलाई अहिलेदेखि नै नेपालले बलियो बनाउनुपर्ने बताए।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयमा विद्यार्थी खोज्ने चुनौतिपूर्ण अवस्था बढिरहेको भन्दै यसको समाधानका लागि श्रमबजारसँग जोडेर शैक्षिक कार्यक्रम सञ्चालन आवश्यक रहेको औल्याए।
नियोन विश्वविद्यालय जापानका प्रोफेसर हिरासावा कात्सिकोले मानव संसाधन व्यवस्थापनमा सूचना प्रविधि निकै महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयहरुले ग्लोबल नेटवर्क स्थापना गरी प्रविधियुक्त जनशक्ति उत्पादन गर्नुको विकल्प नभएको बताए।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध शिक्षाको विश्वव्यापीकरणबाट उच्च प्रविधियुक्त जनशक्ति शीलयुक्त हुने बताए। उनले बौद्ध शिक्षाको प्रवद्र्धनका लागि उपकुलपतिहरुको सम्मेलनबाट ठोस घोषणापत्र जारी हुने बताए।
कार्यक्रम अन्तर्गत पहिलो दिन मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रमबजारमा कृत्तिम बौद्धिकता (एआई) को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिका विषयमा ११ देशका अध्येताहरुले २४ वटा कार्यपत्र प्रस्तुत गरेका छन्।
दोस्रो दिन उपकुलपतिहरुबीच तीन सत्रमा छलफल हुने कार्यक्रम तय भएको छ। चौथो औद्योगिक क्रान्तिका लागि उच्च शिक्षा : वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक सहकार्य विषयको एक सत्र हुनेछ। नेपालमा उच्च शिक्षाका चुनौती र अवसर : वैश्विक गतिशीलता, बौद्ध ज्ञान, र शैक्षिक उत्कृष्टताको समावेश विषयमा अर्को सत्र र नेपालमा वैकल्पिक चिकित्सा प्रवद्र्धन : दीगो विकास लक्ष्यसंगको सहकार्य विषयमा तेस्रो सत्र हुने जनाइएको छ।
सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरुको सहभागीता छ

