
लुम्बिनी, २१ चैत। गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दुई दिनसम्म संचालित उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन दश बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोवल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन बुधबारबाट लुम्बिनीमा सुरु भएको थियो। सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरुको सहभागिता रहेको थियो ।
Advertisement

Advertisement
Advertisement

नेपाल र भारतका गरी १४ जना उपकुलपति, पूर्वउपकुलपतिहरुले जारी गरेको घोषणा पत्रमा उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने उल्लेख छ।
समावेशी र पहुँचयोग्य शिक्षाको सुनिश्चितताको प्रतिवद्धता उपकुलपतिहरुले जनाएका छन्। उपकुलपतिहरुले तार्किक नक्साङ्कन, मानव संसाधनको पूर्वानुमान गरी आवश्यकताका आधारमा मात्रै विश्वविद्यालय स्थापना गर्न सुझाव दिएका छन्।
यस्ता छन् उपकुलपतिहरुको लुम्बिनी घोषणा पत्रका बुँदाहरु:
समावेशी र पहुँचयोग्य शिक्षाको सुनिश्चितता
• महामारी र अन्य संवेदनशीलताबाट प्रभावित विद्यार्थीहरूका लागि उच्च शिक्षामा पहुँच सहज बनाउने।
• तार्किक नक्सांकन, मानव संसाधन पूर्वानुमान र आवश्यकताका आधारमा विश्वविद्यालय स्थापना गर्ने।
बजारमुखी र नैतिकतामा आधारित पाठ्यक्रमको विकास
• पूर्वीय दर्शन तथा नैतिक सिद्धान्तहरू सबै पाठ्यक्रममा समावेश गर्ने।
• पाठ्यक्रम तथा अनुसन्धानलाई श्रम बजारको आवश्यकतासँग जोड्ने।
• शिक्षण रणनीतिहरूलाई दिगो विकास लक्ष्य (SDG) सँग समायोजन गर्ने।
प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता
• उच्च शिक्षामा नैतिक नेतृत्व विकास गर्ने।
• एआईको प्रयोगद्वारा उच्च शिक्षाको शासन तथा शिक्षाको गुणस्तर सुधार गर्ने।
• एआई सम्बन्धी तनाव व्यवस्थापनका लागि योग तथा ध्यान कार्यक्रम सञ्चालन गर्ने।
उच्च शिक्षाको मापदण्डीकरण र लगानी वृद्धि
• विश्वविद्यालयहरूमा पाठ्यक्रमको एकरूपता सुनिश्चित गर्ने।
• नेपाल योग्यता निकाय (NQA) स्थापना गरी विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय स्तरको मूल्याङ्कन गर्ने।
संकाय तथा विद्यार्थी आदान-प्रदानको प्रवर्द्धन
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संकाय आदान-प्रदान कार्यक्रम सञ्चालन गर्ने।
• क्रेडिट बैंक, क्रेडिट ट्रान्सफर तथा संयुक्त डिग्री कार्यक्रम प्रवर्द्धन गर्ने।
सीप विकास र व्यवहारिक शिक्षाको प्रोत्साहन
• केवल पाठ्यक्रम लागू गर्नेतर्फ होइन, विद्यार्थी र प्रयोगशाला केन्द्रित शिक्षामा ध्यान केन्द्रित गर्ने।
• उद्योगमुखी तालिम, सेमिनार तथा कार्यशालाहरू प्रदान गर्ने।
मौलिक ज्ञान र सांस्कृतिक एकीकरणको प्रवर्द्धन
• परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक अध्ययनमा समावेश गर्ने।
• परम्परागत र समावेशी चिकित्सा प्रणालीमा अनुसन्धान तथा विकासका लागि सहकार्यात्मक लगानी प्रवर्द्धन गर्ने।
नवप्रवर्तन तथा अनुसन्धान सहकार्यको प्रवर्द्धन
• अनुसन्धान तथा नवप्रवर्तनका लागि साझा इनक्यूबेशन केन्द्र स्थापना गर्ने।
• अनुसन्धान तथा नवप्रवर्तनका लागि सञ्जाल विस्तार तथा शैक्षिक साझेदारी सुदृढ गर्ने।
पर्यटन तथा व्यावसायिक तालिमद्वारा आर्थिक वृद्धि
• पर्यटन केन्द्रित शैक्षिक कार्यक्रम (जैविक पर्यटन, विद्यार्थी पर्यटन, आध्यात्मिक पर्यटन, साहसिक पर्यटन आदि) विकास गर्ने।
• पर्यटकहरूका लागि निःशुल्क छोटो अवधिका तालिमहरू उपलब्ध गराउने।
रोजगारमुखी शिक्षाद्वारा प्रतिभा पलायन रोकथाम
• सीपमूलक पाठ्यक्रम लागू गरी प्रतिभा रोक्ने।
• विद्यार्थीहरूलाई परामर्श तथा रोजगारमुखी तालिम प्रदान गर्ने।
आगामी दशक (२०८०-२०९०) लाई “प्राज्ञिक र सिर्जनात्मक शिक्षाको दशक” को रूपमा प्राथमिकता दिने ।

