


काठमाडौं, १७ जेठ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन आफू तयार रहेको बताएका छन्।
बैठक सुरु भएपछि सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीअनुसार सदनका कामकारबाही अघि बढाइरहेका बेला प्रधानमन्त्री शाहले बोल्नका लागि हात उठाएका थिए।

प्रारम्भमा सभामुखले उनलाई बोल्ने अनुमति नदिए पनि केही समयपछि प्रधानमन्त्रीले बोल्न इच्छा व्यक्त गरेको जानकारी गराउँदै रोष्ट्रम प्रयोग गर्न अनुमति दिएका थिए।
सभामुख अर्यालले,‘प्रधानमन्त्रीज्यूले हात उठाउनुभएकोले उहाँलाई रोष्ट्रम प्रयोग गर्न अनुमति दिएको छु,’ भन्दै बोल्न समय उपलब्ध गराएका थिए।
रोष्ट्रममा पुगेपछि प्रधानमन्त्री शाहले लामो समयदेखि सांसदहरुले लामो समयदेखि प्रश्न सोध्न चाहेको उल्लेख गर्दै त्यसका लागि समय उपलब्ध गराउन आफू तयार रहेको बताए। उनले सांसदहरुले उठाउने जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिन चाहेको धारणा व्यक्त गरे।
प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर विपक्षी दलहरुले लामो समयदेखि संसद अवरोध गर्दै आएका थिए।
उनले नेपालमा गठन भएका सबै आयोगको प्रतिवेदन अध्ययन गरेर सरकारले सार्वजनिक गर्ने बताएका छन्। नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदन एकमुष्ट अध्ययन गरेर काम कारबाही अगाडि बढाउने जानकारी गराएका हुन्।
सांसद अर्जुन नरसिंह केसीको प्रश्नको जवाफ दिँदै उनले जेन्जी आन्दोलनसहित सबै प्रतिवेदन अध्ययन गरेर काम अगाडि बढाउने बताए।

