


काठमाडौं, १७ जेठ। प्रहरीले टिकटकर तुलसा अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको छ। सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी कसुरमा उनलाई थाइल्यान्डबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो। सोही आधारमा उनलाई थाइल्यान्डमा पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल ल्याइएको हो।

अधिकारीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा उनीसहित १० जना प्रतिवादी रहेका छन्।
तुल्सा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीमाथि एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै ‘ब्ल्याकमेल’ गरेको आरोप छ। पीडित व्यवसायीले अधिकारीले आफूबाट नगद तथा जिन्सी गरी करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको रकम तथा सामग्री लिएको दाबी गरेका छन्।

