
हृदयराम गुप्ता
भैरहवा,२४ चैत। मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको अध्यक्षमा राजेन्द्र यादव निर्वाचित भएका छन्।
Advertisement

Advertisement
Advertisement

निकटतम प्रतिद्वन्द्वी नजिर अहमद मुसलमानलाई एक मतले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। यादवले ६४ मत प्राप्त गर्दा मुसलमानले ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत विवेक साहले बताए ।
अध्यक्ष, सचिव तथा कोषाध्यक्षका लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार फिरोज अहमद खाँले २ मत प्राप्त गरे।
यस्तै सचिवमा जगन्नाथ प्रसाद कुर्मीले ७५ मत र कोषाध्यक्षमा प्रभु यादवले ६८ मत ल्याएर निर्वाचित भएका छन्। साहका अनुसार सचिव पदका उम्मेदवार अर्का अब्दुल सलाम मुसलमान ४६ मत र कोषाध्यक्ष पदका उम्मेदवार जनार्दन यादव ५४ मत प्राप्त गरे।

१ सय ३१ मतदाता रहेका निर्वाचनमा शतप्रतिशत मतदान भएको थियो । यसअघि संस्थाको उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सा देवी गुप्ता निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ।

