


भैरहवा,२७ चैत। बुटवल-नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डमा निर्माणकार्यका कारण बुधवार (आज) देखि दैनिक ६ घण्टा सडक अवरुद्ध हुने भएको छ ।
सडक आयोजना निर्देशनालयले सूचना जारी गर्दै बुधवार देखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने जनाएको छ । त्यस्तै बैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको छ।

सडक अवरुद्ध हुने अवधिभर बुटवलतर्फ आउने सवारीसाधनहरुमध्ये बस, मिनिबस, माइक्रोबस र साना सवारी साधनहरु रोकिने स्थानको रुपमा होङ्सी सिमेन्ट गेट दुम्कीबास बजार खण्डलाई तोकिएको छ।
नारायणगढतर्फ जाने सवारीसाधनहरुमध्ये बस, मिनिबस, माइक्रो बस, साना सवारी साधनलाई चिसापानी बर्दघाट खण्डमा रोकिन जारी सूचनामा उल्लेख छ ।
त्यस्तै, बुटवलतर्फ आउने सवारी साधनहरुमध्ये ट्रक, लरी, ट्रेलर, टिप्पर, ट्यांकर र भारी सवारी साधनलाई चोरमारा अरुणखोला बजार खण्डमा र नारायणगढतर्फ जाने सवारीसाधनहरुमध्ये ट्रक, लरी, ट्रेलर, टिप्पर, ट्यांकर र भारी सवारी साधनलाई ज्यामिरे हकुई खण्डमा रोक्नका लागि क्षेत्र तोकिएको छ।
उक्त आयोजना अन्र्तगतको सडकखण्डको दाउन्ने क्षेत्रमा कष्टपूर्ण यात्राबाट सर्वसाधरण गुज्रिनु परेको छ । पटक–पटकको ध्यानाकर्षण गराउँदा पनि सडक निर्माणले गति नलिएपछि जनप्रतिनिधिहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि सडक निर्माणले गति लिएको छ।

