


बागलुङ,२८ चैत। प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तमानखोला गाउँपालिका–१ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र मकवानपुर कैलाश गाउँपालिका–९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन रहेको प्रहरीले जनाएको छ।
बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा खाजाघर र रेस्टुरेन्टमा ललगाई फकाई गरी नाबालिकालाई यौन गतिविधिमा लगाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले बताए।

प्रहरीका अनुसार पक्राउ परेकी विक तमानखोला खाजाघर बुर्तिबाङका सञ्चालक हुन् भने भोम्जन बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर बुर्तिबाङको सञ्चालक हुन् ।
पीडितको जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा जिल्ला अदालत बागलुङबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

