


काठमाडौं,३१चैत। पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन्। नयाँ वर्ष २०८२ को अवसरमा भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरुकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो। तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ’, उनले भने, ‘केहीदिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी ,तोडफोड भयो त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो। त्यो सुन्दा हामीलाई अन्त्यन्तै दुःख लाग्यो।’

उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताए। उनले भने, ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ।’ नेपाली जनतामा देशभक्ति भावना विश्वमै अनुकरणीय रहेको उनले दावी गरे।
उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताएका छन्।
‘संसार धेरै अघि बढिसक्यो। तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ,’ पूर्वराजा शाहले भनेका छन्, ‘हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ। आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं।’
पूर्वराजा शाहले नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यायोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

