
भैरहवा, ४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गत चैत १५ गते समाजवादी मोर्चाले गरेको सभा र राजावादीको गरेको हिंसात्मक प्रर्दशनले गणतन्त्रवादी र राजावादी कस्ता रहेको विषयमा नागरिकले बुझ्ने मौका पाएको बताए
बिहीबार पार्टीको तराई मधेस जागरण अभियान अन्तर्गत भैरहवा पुगेका बेला प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजावादीको ज्वरो फेरी आउने जस्ता नलागेपनि बिचण्डा मच्चाइराख्ने हर्कत गर्न सक्ने भएकोले लोकतन्त्र पक्षधर सतर्क रहनुपर्ने बताए ।
Advertisement

Advertisement
Advertisement

‘राजावादीको बेलुनको हावा चैत १५ गते नै खुस्कियो । अब फेरी त्यही रुपमा आउन सम्भव छैन । पूर्वराजा ज्ञानेन्द्रले जनकमाण्डर घोषणा गरेको एउटा हावालाई गिरफ्तार गरिएको छ’, उनले भने, ‘त्यसकारण अब फेरी राजावादी बुखार (ज्वरो) आउँछ जस्तो हामीलाई लाग्दैन । यद्यपी उनीहरुले यस्ता बितण्डा मच्चाइराख्ने हर्कत गरिराख्न सक्छन् । त्यसमा हामी सबै लोकतन्त्रका पक्षधर सतर्क रहीराख्नु पर्छ ।’
सम्मेलनमा प्रचण्डले वर्तमान सरकारप्रति कटाक्ष गर्दै रातिको अध्याँरोमा बनेको सरकार दुई तिहाइको नभई षड्यन्त्र र अपरार्शी सरकार भएको टिप्पणी गरे ।
‘मलाई राति सब ठिकठाक छ भन्न लगाउने सम्मको काम गरेर असाध्ययै अपारदर्शी र षड्यन्त्रपूर्वक ढंगले बनेको सरकार हो । दिनको उज्यालोमा पनि बनेको घोषणा गर्न सकेन र रातको अध्याँरोमा यो सरकारले बनाउनुपर्ने स्थिती आयो’, उनले भने, ‘त्यसकारण यसको जन्मनै अप्राकृतिक ढंगले भएको हुनाले यो सरकार प्रति जनतामा आशा भरोसा केही पनि थिएन । भ्रष्टाचार, दलाल, विचौलियाहरुको पहलमा बनेको सरकार हो ।’
उनले आफुले अन्तिम पटक विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा सरकार बन्नुपर्ने भनेपनि त्यो नभएको बताए ।
‘सरकारमा रहेका नेपाली कांग्रेसभित्र असन्तुष्टि छ । एमालेभित्र पनि भुसको आगो जस्तो उकुसमुकुसको स्थिती छ, त्यहाँ धुवाँ बुत्ताइराखेकै छ’,पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले, ‘त्यस कारण यो सरकार जति दिन बस्छ , नेपाल र नेपालीका निम्ति दुर्भाग्य नै आउने हो।’
आन्दोलित शिक्षकहरुको माग सम्बोधन गर्नुपर्नेमा सरकारले अपमानित गरिरहेको उनको भनाई छ । देशमा शिक्षक, चिक्तिसक, लघुुवित्त, सहकारी पीडित लगायतको सडकमा रहेको अवस्थालाई राजीनितिक विश्लेषण र कांग्रेस, एमालेका नेतासँगको संवादको आधारमा नयाँ वर्षसँगै सरकार जाने आफुले भनेको बताए ।
उनले सरकार नयाँ वर्षसँगै जाने भनेको विषयलाई सरकार नभएकोले कुण्ठा पोखेको एमाले वृतबाट टिप्पणी गर्ने कोशिस भएको भन्दै आफुहरुलाई कुनै कुण्ठा नभएको सरकारमा आउन कुनै रुची पनि नभएको दावी गरे ।
‘हामीलाई सरकार ढाल्न हतारो गर्नपर्ने कुनै कारण छैन । यो सरकार चलिराख्नु भनेको नेपाल र नेपालीको निम्ति त दुर्भाग्य हो’, उनले भने, ‘तर माओवादी केन्द्रलाई यो सरकार ढालेर आफु सरकारमा जान पनि कुनै रुची पनि छैन । हाम्रो कुनै खालको हतारो पनि छैन । त्यस अर्थमा यो सरकार चलिराखोस्, जनताले दुःख पाइराखुन् भन्ने पनि हाम्रो मनशाय छैन ।’

