
काठमाडौं,४ बैशाख। प्रहरीले सुन, चाँदी र नगदसहित नौ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र घर भई हाल काठमाडौँका विभिन्न स्थानमा बस्ने वर्ष ३० वर्षीइ नबनाथ बाकु कसीद, २० वर्षीय सन्दिप पोपट हजारे, २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, २१ वर्षीय अरमान हनिफ ईनामदाय, २२ वर्षीय मनोज सुभाष सकट, ३८ वर्षीय अमोल कुमार गोश्ले, २० वर्षीय सुनिल मिटकरी र २० वर्षीय सुरज नन्दीवाली रहेको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

काठमाडौँका विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अवैध कारोबार भैरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
विभिन्न सुन रिफाइनिङ एण्ड टंच सेन्टरहरुमा खानतलासी गर्दा एक किलो ७६ दशमलव ५१८ ग्राम सुन र १ किलो ८४५ दशमलव ४२९ ग्राम चाँदी बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार बरामद सुनको मूल्य एक करोड ७० लाख १० हजार ६० रुपैयाँ तथा चाँदी ३० लाख ९ हजार ९१ रुपैयाँ मूल्य बराबरको रहेको छ। यस्तै उनीहरुको साथबाट ८ लाख २७ हजार ५ सय नेपाली मुद्रा र ११ हजार ७ सय भारतीय मुद्रा पनि बरामद भएको छ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि उक्त धातु र नगद सहित आन्तरिक राजश्व विभाग, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

