


काठमाडौं, ४ बैशाख। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि (शुक्रबार) सम्म देशका विभिन्न भू-भागहरुमा पानीसहित चट्याङ पर्न सक्ने सम्भावना रहेकोले मुसुरो, गहुँ लगायतका बाली नकाट्न आग्रह गरेको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार भोलि कोशी र बागमती प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोही दिन मधेश,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। यी स्थानहरुमा हावाहुरीसहित चट्याङ पर्ने देखिएकाले सतर्क रहन उनले आग्रह गरिन्।
भोलिसम्म वर्षाको सम्भावना देखिएकाले ती स्थानमा मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्न महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

