


भारत। उत्तर प्रदेशको मेरठ जिल्लामा एउटा अनौठौ अपराधिक घटना घटेको छ। जहाँ श्रीमतीले आफ्नै श्रीमानको हत्या गर्न प्रेमीसँग मिलेर योजना बनाएकी थिइन् ।
२५ वर्षीय अमित कश्यप (मिक्की) कामबाट घर फर्केर सुतिरहेका बेला उनकी पत्नी रविता र प्रेमी अमरदीपले मिलेर घाँटी थिचेर उनको हत्या गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ।

हत्या पछि प्रमाण लुकाउनको लागि उनीहरुले मिक्कीको शव नजिक विषालु सर्प छाडे र सर्पले १० पटक डसेको देखाए। प्रहरीका अनुसार मृत्यु सर्पको टोकाइका कारण मृत्यु भएको भनी देखाउनु उनीहरुको उद्देश्य थियो।
मृत फेला परेका अमितको शव पोस्टमार्टम गर्दा घाँटी थिचिएर मृत्यु भएको पुष्टि भयो। जसपछि रविता र अमरदीपलाई प्रहरीले नियन्त्रणमा लियो। प्रारम्भमा झुट बोलेका उनीहरुले कडाइका साथ सोधपुछ गर्दा अपराध स्वीकार गरे ।
रविता र अमितको ८ वर्षअगाडि विवाह भएको थियो र उनीहरुका तीन सन्तान छन्। रविताले श्रीमानले बारम्बार कुटपिट गर्ने तथा दुर्व्यवहार गर्ने गरेको आरोप लगाउँदै त्यसकै कारण हत्या गर्न बाध्य भएको दाबी गरिन् । सर्प भने अमरदीपले ल्याएको बताइएको छ। दुवै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको मेरठ प्रहरीले जनाएको छ।

