
भैरहवा, ८बैशाख। रुपन्देहीमा पत्रकार राधेश्याम विश्वकर्मालाई तस्करहरुको समूहले दुव्र्यहार गरेका छन् ।
संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा भइरहेको तस्करीको भीडियो छाँयाकन गर्दा तस्करको समूहले घेरा हालेर धम्क्याउँदै क्यामेरा खोस्ने, झोला खानतलासी गर्ने, सवारी साधनको साँचो कब्जामा लिएर दुव्र्यहार गरेका हुन्। पत्रकार विश्वकर्मा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्र्तगतको एपी वान टेलिभिजनमा कार्यरत छन् ।
Advertisement

Advertisement
Advertisement

समाचार संकलन गर्न जाने क्रममा मायादेवी गाउँपालिका ६ स्थित मकरीमा लामवद्ध रुपमा साइकल र मोटरसाइकल भइरहेको तस्करी भीडियो छाँयाकन गर्दा दीपेश यादव नेतृत्वको तस्करहरुको समूहले दुव्र्यहार गर्दै छाँयाकन गरिएको भीडियो डिलिट गराएको पत्रकार विश्वकर्माले बताए ।
उनका अनुसार तस्करहरुको समूहले प्रहरी चौकी हाटीबनगाई (दुर्गौलिया) का इन्चार्ज एवं प्रहरी नायब निरीक्षक विष्णुबहादुर राउतको समक्ष तस्करीको भीडियो डिलिट गराएका हुन् । उक्त समूहले क्यामेरा खोस्नेक्रममा उनको क्यामेरा क्षति समेत पुगेको उनले बताए।
नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ रुपन्देही, लुम्बिनी प्रेस क्लब, प्रेस चौतारी नेपाल रुपन्देही, मधेसी पत्रकार समाज नेपाल रुपन्देहीले विज्ञप्ति जारी गरेर घटनाको भत्र्सना गरेका छन्।
नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेर पत्रकारलाई घेरा हालिरहँदा प्रहरी मुखदर्शक भएर बस्नु अत्यन्त दुःखद पक्ष भएको भन्दै नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा खटिएका पत्रकारमाथी भएको यो आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथीको ज्यादती भएको बताएको छ ।
‘स्वतन्त्र पत्रकारमाथि भएको यो घटनालाई हामीले गम्भीर रुपमा लिएका छौं। आगामी दिनमा यस्ता घटना हुन नदिन दोषीलाई कारबाही गरी न्यायको अनुभूति दिलाउन सम्बन्धित सबै पक्षसँग माग गर्दछौं’,लुम्बिनी प्रेस क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण पत्रकारहरुको शान्ति–सुरक्षाको ग्यारेन्टी गर्न पनि सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउँछौं। आगामी दिनमा यस्ता गैरकानूनी कार्य र गतिविधिमा संलग्न नहुन तथा स्वतन्त्र र निष्पक्ष पत्रकारितालाई सम्मान गर्न समेत सधै पक्षलाई आग्रह गर्दछौं ।’

