
भैरहवा, १० वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताएका छन्। बुधबार रुपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीस्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गर्दै उनले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरुको उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिए।
पछिल्लो समय बिरामीको संख्या बढ्दै गएका कारण यो विषय थप चिन्ताजनक बन्दै गएको उनको भनाइ छ। बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको उल्लेख गर्दै उनले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘प्रदेश स्थापना भएदेखि नै मैले क्यान्सर रोगका बिरामीलाई सहयोगको विषयमा निरन्तर संसदमा छलफल गरे। संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि नै उपचार सहयोग कार्यक्रम सुरु गर्न सफल भयौं’उनले भने–‘म पनि लामो समय क्यान्सरसँग जुध्दै आएको व्यक्ति हुँ। अहिले क्यान्सरलाई जितेर तपाईहरुको माझमा छु। रोगले च्यापेको बेलामा के के भोग्नुपर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ। हामी बिरामीको पक्षमा काम गर्छौं र गरिरहेका छौं ।’
उनले सरकारको एकल प्रयासले मात्र सबैको पहुँचमा उपचार सेवा पुर्याउन कठिन हुने भएकाले निजी क्षेत्रबाट भइरहेका प्रयासहरुलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे। क्यान्सर रोगको उपचार तथा सेवा प्रवाह गर्ने लक्ष्यका साथ बेथरीमा अस्पताल निर्माण थालिएको हो। २ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो अस्पताल १ सय शैयाको हुनेछ। निर्माण कार्य करिब डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीहरुको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।

