


भैरहवा,१०बैशाख। मुलुकबाट वस्तु निर्यात हुनेमा भैरहवा नाकामा पाँचौं नम्बरमा रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) अवधिमा भैरहवा भन्सार नाकाबाट १४ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो मुलुकबाट कुल निर्यातको ७.५६ प्रतिशत हो।
उक्त अवधिमा मुलुकबाट कुल १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ। चालु आर्थिक वर्षमा मुलुकको पाँच भन्सार नाका वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,मेची र भैरहवाबाट अधिक वस्तु निर्यात भएको तथ्यांकले देखाएको छ।

जसमध्ये वीरगञ्ज भन्सारबाट ६५ अर्ब ५१ करोड बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३४.८१ प्रतिशत हो। विराटनगर भन्सारबाट ४८ अर्ब ४२ करोड ४५ लाख बराबर वस्तु निर्यात भएको देखिएको छ। जुन २५.७३ प्रतिशत हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बिन्दुबाट २६ अर्ब ८२ करोड बराबर वस्तु निर्यात भएको छ। यो १४.२५ प्रतिशत हो। त्यस्तै मेची भन्सार बिन्दुबाट १९ अर्ब ५५ करोड बराबरको वस्तु निर्यात भएको छ। जुन १०.३९ प्रतिशत हो ।
विभागको तथ्यांक अनुसार रसुवागढीबाट १ अर्ब ८१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। जुन करिब ०.९७ प्रतिशत छ।

