

बुटवल। बुटवल हस्पिटल प्रालि र ग्लोबल आईएमई बैंकबीच उपचार सम्बन्धमा सम्झौता भएको छ । बैंकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुलाई अस्पतालले सहुलियत प्रदान गर्नेछ । त्यस्तै बैंकले अस्पतालले गर्ने विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ।
उपचार सम्झौतासँगै दुई संस्थाका बीचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खुलेको बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए। उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए। सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन उनले अपिल समेत गरे।



उक्त अवसरमा ग्लोबल आईएमई बैंक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैंक र हस्पिटलका बीचमा भएको उपचार सम्झौताले दुवै पक्षलाई आगामी दिनमा थप सहकार्यको वाटो खोलेको बताइन्। उनले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले अबका दिनमा बैंकर्सहरुले पनि उपचारका लागि बुटवल हस्पिटल नै रोज्ने विश्वाश व्यक्त गरिन्।
दुई संस्था बीचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रालिका मेडिकल निर्देशक डा कृष्ण खनाल, जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, बैंकको तर्फबाट प्रदेश प्रमुख सिवाकोटीसंगै जगलाल भुषाल लगायतले धारणा राखेका थिए।
२५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रालि हाल १ सय शैय्यामा संचालनमा छ। जहाँ विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसियू, एनआईसियू, एचडीयू सहितका उपचार कक्षहरु संचालनमा छन् भने एक पटकमा ४ वटा अपरेसन गर्न मिल्नेगरी ओटी संरचना छ ।
बुटवल हस्पिटल प्रालिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन
गरिएको छ। ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो। साथै बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर
तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सय भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाली नागरिकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्नुका अतिरिक्तविश्वका विभिन्न देशहरुबाट रेमिट्यान्स सेवा पनि दिदैं आएको छ ।