
भैरहवा, १४ वैशाख। लुम्बिनीमा तेस्रो ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ (बीआईटीएम) हुने भएको छ। अगामी जेठ ९, १० र ११ गते काठमाडौं र लुम्बिनीमा हुने मार्ट सञ्चालनको विषयमा नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट (नाट्टा) केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल गरेको छ।
भैरहवामा नाट्टा लुम्बिनी प्रदेश र बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट लुम्बिनी प्रदेशका पदाधिकारीबीच भएको छलफलमा नाट्टा केन्द्रिय अध्यक्ष कुमारमणि थपलियाले विगतका वर्ष भन्दा यस वर्ष अझ व्यवस्थित गर्ने गरी सरोकारवालासँग छलफल गरिरहेको बताए। उनले भने–‘विगतका वर्षमा लुम्बिनीमा मात्रै हुने बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट यस वर्ष काठमाडौंमा पनि गर्ने योजना छ। सबैको अपनत्व हुने गरी कार्यक्रम सम्पन्न गर्न हामीले सरोकारवालासँग छलफल गरिरहेका छौं। ’
Advertisement

Advertisement
Advertisement

अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त स्वदेशी तथा विदेशी ट्राभल्सहरुको सहभागीता रहने मार्ट नेपालको पर्यटन प्रवद्र्धनमा विशेष योगदान दिने तेस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्टका संयोजक जिस्वा तुलाधार श्रेष्ठले बताइन् । उनले भनिन–‘बीआईटीएमले बुद्धिष्ट टूर गन्तव्यसँगै नेपालका अन्य पर्यटकीय गन्तव्यलाई पनि प्रमोसन गर्ने गरी कार्यक्रम तय गर्दैछौं।’ उनले लुम्बिनी क्षेत्रका पर्यटन क्षेत्रका सरोकारवालासँगको सहकार्य र सक्रियतामा तेस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट गर्ने तयारी गरेको जानकारी दिइन् ।
छलफलमा पर्यटन विकास परिषद लुम्बिनी प्रदेशका सदस्य तथा होटल व्यवसायी महासंघ, नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्राले लुम्बिनीका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा बीआईटीएमको कार्यक्रम केन्द्रित हुनुपर्ने बताए।
कार्यक्रममा पर्यटन व्यवसायी लक्की सिंहले बीआईटीएममा बुद्धिष्ट ट्राभल्सको विज्ञहरुबीच प्यानल छलफल समेत गराउनुपर्ने सुझाव दिए। उक्त छलफलमा बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्टलाई विगतको कमजोरीलाई हटाउँदै सबैको ऐक्यबद्धतासहित आम नागरिकको समेत सहभागितामा कार्यक्रम गर्दा उचित हुने हुने नाट्टा लुम्बिनीका संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्माले बताए।
बुद्धिष्ट साईटहरुमा विदेशी ट्राभल्सहरुको सहभागीतामा फार्म ट्रिप, विज्ञहरुबीच प्यानल छलफल र लुम्बिनी क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचार गर्ने गरी नाट्टाको अगुवाईमा हुने बीआईटीएम उपलब्धिमुलक गराउन सबैको सहकार्य आवश्यक रहेको नाट्टा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले बताए।
छलफलमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले लुम्बिनी क्षेत्रमा हुने बीआईटीएमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीमा सृजना भएको निराशालाई चिर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे। उनले बीआईटीएमले पर्यटन उद्योगको पुनरुत्थानमा पनि सहयोग पुर्याउने भएकोले सबै उद्योगी–व्यवसायी कार्यक्रम सफल बनाउन लागिपर्ने बताए ।
लुम्बिनीमा आयोजना हुने बीआईटिएम सफल गराउन प्रदेशस्तरीय समिति पनि गठन गरिएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले बताए।

