
भैरहवा,१५बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयको प्रहरीको गुण्डागर्दी बन्द गर्न व्यवसायीले आग्रह गरेका छन् । पालिकाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायी हरिश सेठियाले नगरमा प्रहरीको ज्यादतीका कारण व्यवसायमा मार परेको गुनासो पोखे।
उनले करको दायरमा आएका व्यवसायीको ढाड सेक्ने नगरपालिकाले करको दायरमा नआएकालाई सोध्न समेत नजाने गरेको दावी गरे । ‘कसैले व्यापार गर्छ भने पालिकामा दर्ता हुनुपर्छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य समेत रहेका उनले भने, ‘तपाईहरुले राखेको नगरप्रहरीलाई अहिले नै उनीहरुलाई एसपी-डिआईजी बनाईदिनु भएको छ।’
Advertisement

Advertisement
Advertisement

नगर प्रहरीको ज्यादतीका कारण बैंकरोडको व्यवसाय धरासयी भएको उनको भनाई छ । उनले नगर प्रहरीहरुको रैवया सुधार गर्न वा ज्ञान दिन आग्रह गर्दै नगरप्रहरीको गुण्डागर्दी बन्द गर्नुपर्ने बताए। उनले पसलमा व्यापार नभएकोले आफु कार्यक्रममा उपस्थित भएको भन्दै पालिकाले जरिवाना लिदै गर्दा व्यवसायीको मर्का बुझ्न आग्रह गरे ।
‘मेरो व्यापार छैन । मेरो व्यापार भएको भए यो मासमा आउने थिएन । तपाईहरुले जरिवाना तिराउनु भएको छ तर हाम्रो मर्का पनि बुझ्नुस’, भावुक हुँदै उनले भने, ‘हाम्रो बैंकरोडको स्थिती डामाडोल छ । हामी रुन सकेका छैनौं । तपाईले यो कुरा बुझ्नुस् ।’
पसलमा सामग्री खरिद गर्न भारतबाट आएका पर्यटक वा सर्वसाधरणको सवारीसाधन पार्किङ नभएको भन्दै नगर प्रहरीले कारवाहीका लागि सवारीसाधन उठाएर पालिकामा राख्ने गरेको छ। जसकारण समेत व्यवसायीहरु मर्कामा परेको उनीहरुको गुनासो छ ।
केही दिन अघि पनि उद्योग व्यापार संगठन रुपन्देहीले पनि नगर प्रहरीले ज्यादती गरेको भन्दै सुधारका लागि नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो ।
सिद्धार्थनगर नगर प्रमुख इश्तियाक अहमद खाँले आफुले मर्का बुझिरहेकोले आफु दुःख दिन नभई खुशीको आँशु दिन आएको बताए। उनले व्यवसायीले उठाएको पीडा जायज भएको भन्दै अब नगरप्रहरीबाट कोही पीडित नहुनेको उनको भनाई छ ।
सिद्धार्थनगर नगरपालिका नगर प्रहरी बलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीबाट अवकाश प्राप्त अधिकृत ल्याउन नसक्दा भर्ना गरेको नगर प्रहरीमा ‘चेन अफ कमाण्ड’भताभुङ्ग छ।
र, यो पनि…
नगर प्रहरीले ज्यादती गरेको भन्दै सिद्धार्थनगरमा ज्ञापन

