
काठमाडौं,१५बैशाख। नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत् आपूर्तिमा लोडसेडिङ नरहेको दावी गरेको छ। माग र आपुर्तिबीचको सन्तुलन कायम गर्न भारतबाट विजुली आयात गरिरहेको प्राधिरकणले जनाएको छ।
विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचनालाई प्राधिकरणले भ्रमको संज्ञा दिएको छ। भारतबाट बिजुली आयात गर्दा १० भारतीय रुपैयाँ भन्दा बढि नतिरेको प्राधिकरणले जानकारी दिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्राधिकरणका अनुसार हाल देशभर विद्युत्को जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ। जसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य २५ मेगावाट, तापीय ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २१ सय ४९ मेगावाट रहेका छन्।
हाल आन्तरिक उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेकोमा, विद्युत्को उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको छ। त्यसमा १ हजार ५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको जानकारी दिइएको छ।
प्राधिकरणले गर्मीयाम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत् आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई २४ सै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको जनाएको छ।
प्राधिकरणले हालको मौसमका कारण कतिपय स्थानमा आँधी, हुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुन सक्ने जनाएको छ। साथै, मर्मतसम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कार्यका कारण पनि कतै कतै विद्युत् बन्द हुने अवस्था आउन सक्नेछ, जसको सूचना अग्रिम रुपमा दिइँदै आएको बताएको छ।
सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको भन्दै हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने स्पष्ट पारेको छ। औद्योगिक ग्राहकलाई बेलुकाको समयमा खपत घटाउन आग्रह गरिएको छ। वर्षा सुरु भएसँगै नेपालको नदीमा बहाव बढ्ने र आन्तरिक उत्पादन बढ्ने भन्दै प्राधिकरणले आन्तरिक उत्पादन बढ्ने अपेक्षा लिएको छ।

