
बुटवल, १६बैशाख । पछिल्लो समय निकै चर्चाको विषय बनेको विद्युतीय सवारी साधनलाई चुनौती भन्दा अवसरको रुपमा लिनुपर्ने सरोकारवालाले बताएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोशिएसन रुपन्देही लुम्बिनीको आयोजनामा बुटवलमा आयोजना भएको बिद्युतीय सवारी साधनका बारेमा कामदारहरुलाई क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले उक्त विषयमा जोड दिएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष प्रेम बहादुर फौदारले अटो व्यवसायीहरु प्रयोगात्मक शिक्षामार्फत अगाडि बढेको बताउँदै बिद्युतीय सवारी साधनलाई अवसरको रुपमा लिएर काम गर्न आग्रह गरे। उनले यसो गर्न सकेमा अटो क्षेत्रका व्यवसाय थपिएका प्रविधिहरुमा प्रतिस्पर्धा गर्न अब्बल हुनेमा जोड दिए।
Advertisement

Advertisement
Advertisement

बिद्युतीय सवारीको बारेमा भ्रमहरु रहेको भन्दै सकारात्मक पक्षहरुको बारेमा जानकारी दिन आवश्यक रहेको बताए।उनले बुटवलमा नै प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी रहेको बताउँदै आवश्यक छलफल र अध्ययन भइरहेको जानकारी दिए।
संस्थाका अध्यक्ष प्रेम गौचनले अहिले पछिल्लो तथ्याङ्क अनुसार गाडी बिक्रीको ७० प्रतिशत बिद्युतीय सवारीहरु बिक्री भइरहेकोले भविष्यमा यसले ग्यारेजमा ईभी गाडी नै आउने तर्क गरे। नयाँ प्रविधिको बारेमा प्राविधिक कामदारहरुलाई दक्ष बनाउनको लागि कामहरु भइरहेको बताउँदै आवश्यक कार्यहरुमा सक्रियताका साथ लागेको उल्लेख गरे।
रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष हरि बहादुर खत्रीले विद्युतीय सवारीको माग र बजार राम्रो भएकोले यसतर्फ ध्यान दिएर काम गर्न प्राविधिकहरुलाई आग्रह गरे। उनले सिकेको सीप आफै सँग रहने भन्दै मैनाबगरको गरिमा बढाउन आग्रह गरे।
नेपाल अटो मेकानिस्क महासंघका पूर्वकेन्द्रीय अध्यक्ष जनार्दन गैरेले इभी गाडी अहिलेको राम्रो सम्भावना रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए। उनले यस्ता तालिमहरुमा प्राविधिकहरुलाई अनिवार्य सहभागी गराउनको लागि आग्रह गरे।
कार्यक्रममा पूर्वअध्यक्ष भोज बहादुर बुढाथोकीले डिजेल पेट्रोलका गाडी सँगै विद्युतीय सवारीहरुको मर्मतमा ध्यान दिएमा व्यवसाय पलायन हुन नपर्नेमा जोड दिए। स्वास्थ्य सल्लाहकार इन्द्र बहादुर राईले विद्युतीय सवारी मर्मत गर्दा वा यात्रा गर्दा दुर्घटना भएको अवस्थामा अस्पतालसम्म पु¥याउने जानकारी मूलक तालिम पनि आवश्यक पर्नेमा जोड दिए।
उद्योग उपाध्यक्ष एवं प्राविधिक तालिम विभाग प्रमुख ध्रुवराज भुसालको स्वागत तथा महासचिव पुनीत पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रुपन्देही उद्योग संघ र ईनसोर परियोजनाको सहयोगमा सुरु भएको तालिममा ३० जना सहभागिता रहेको छ। तालिममा केएनआईटिका प्रशिक्षकहरु मिलन न्यौपाने, सन्दीप लेखक र सचिन अधिकारीले प्रशिक्षण गर्ने र तालिम जेठ ९ गतेसम्म ९६ घण्टा सञ्चालन हुने बताइएको छ।

