

बुटवल,१६बैशाख। बुटवल हस्पिटल प्रालि र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्रसेवक समाज नेपाल बुटवलबीच उपचार सम्झौता भएको छ।
बुटवल हस्पिटल प्रालिले उपचारका लागि निवृत राष्ट्र सेवक समाजमार्फत आउने पूर्वकर्मचारी तथा उनीहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ।



उपचार सम्झौतासँगै दुई संस्थाको बीचमा सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रालिका उपाध्यक्ष ललित खरेलले बताए। उनले बुटवल हस्पिटल प्रा लि सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै संस्था भएकोले यसको संरक्षण र प्रवद्र्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए।
उनले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन आग्रह समेत गरे।
उक्त अवसरमा बुटवल हस्पिटल प्रालिका मेडिकल सुपरीटेण्डेन्ट डा कृष्ण प्रसाद खनालले सरकारबाट पेन्सनका रुपमा सहुलियत पाउने एक हिसाबले जेष्ठ नागरिककै रुपमा रहेका पूर्वकर्मचारीहरुसंग सहकार्य गर्नपाउनु स्वागतयोग्य विषय भएको बताए।
निवृत राष्ट्र सेवक समाज बुटवलका अध्यक्ष भाज बहादुर केसी र सचिव मुकुन्दराज गौतमले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले अबका दिनमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य समस्या आउँदा बुटवल हस्पिटल प्रालिलाई नै सम्झने वातावरण बनेको बताए।
दुई संस्थाबीचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रालिका जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, आपतकालिन तथा अप्रेशन ईन्चार्ज सरोज चौधरी, बजार प्रमुख सुमन तिमिल्सीना लगायतले धारणा राखेका थिए।
२५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रालि एक सय शैय्यासहित संचालनमा छ। विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसीयू, एनआईसीयू, एचडीयू सहितका उपचार कक्षहरु संचालनमा छन् भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना समेत छ।
बुटवल हस्पिटल प्रालिमा चिकित्सक, नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत छन्। यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ।