


काठमाडौं,१९बैशाख। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु प्रकरणमा अनुसन्धान थालिएको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय संचारमाध्यमसँग कुराकानी गर्दै भुवनेश्वर-कटकका पुलिस कमिसनर सुरेश देव दत्त सिंहले छात्राको मृत्युपश्चात कुनै उजुरी प्राप्त नभएकोले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान थालिएको बताए।

‘बिहीवार साँझ ७ बजेतिर विश्वविद्यालयमा हाजिरी लिइँदै गर्दा कोठामा एक्लै रहेकी छात्राले कुनै प्रतिक्रिया दिइनन्। त्यसपछि उनी झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। त्यसपछि हामीलाई जानकारी गराइयो। हामी अनुसन्धान गरिरहेका छौं। एक वैज्ञानिक टोली पनि घटनास्थलमा पुगेको छ र पीडितको कोठामा खोजी भइरहेको छ’, भारतीय संचारमाध्यमसँगको कुराकानीमा उनले भने, ‘उपस्थित पीडितका साथीहरु सहयोग गरिरहेका छन्। शवको वरपर कुनै नोट फेला परेको छैन। यद्यपि, वैज्ञानिक टोलीले खोजी गरिरहेको छ। कुनै उजुरी नआएकोले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ।’

