
बुटवल,१९बैशाख। लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ लको आयोजनामा पहिलो राष्ट्रिय मुटकोर्ट प्रतियोगिता सुरु भएको छ। विद्यार्थीहरुमा अदालती अभ्यासको सिकाई अभिवृद्धिका लागि देशव्यापी मुटकोर्ट प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा नेपालका नौ विश्वविद्यालयका १६ वटा कानून विषय अध्यापन हुने शैक्षिक संस्थाका विद्यार्थीहरुको सहभागिता रहेको छ।स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरु सहभागी हुनेगरी मुटकोर्ट प्रतियोगिता आयोजना गरिएको स्कूल अफ लका निर्देशक प्रकाशमणि शर्माले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

प्रतियोगिताले सैद्धान्तिक ज्ञान लिइरहेका विद्यार्थीहरुलाई अदालती अभ्यासमा दक्ष बनाउने उनले बताए। स्कूल अफ लका अनुसार प्रतियोगितामा लुम्बिनी बौद्ध विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम पश्चिम विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्शीजनक विश्वविद्यालयका क्याम्पसहरुको सहभागिता रहेको छ।
बुटवलस्थित सिटी क्याम्पसमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा सर्वोच्च, उच्च तथा जिल्ला अदालतका न्यायधिस, वरिष्ट अधिवक्ता तथा अधिवक्ताहरु मूल्यांकर्ता रहेको जनाइएको छ।
मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले प्रतियोगिता तीन दिनसम्म चल्ने बताए। प्रतियोगितामा ६४ विद्यार्थीहरुको सहभागिता रहेको छ, विद्यार्थीहरुले बहस, तथ्य प्रमाण पेशका आधारमा मुटकोर्टका न्यायधिशले गर्ने मूल्यांकनबाट अघिल्लो चरणमा प्रवेशको मौका पाउनेछन्।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम कायममुकायम प्रधानन्यायधिश सपना प्रधान मल्लको प्रमुख आथित्यतामा लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बैशाख २० गते हुने जनाइएको छ।
पुरस्कार वितरण कार्यक्रममा कामु प्रधानन्यायधिश मल्लसहित महान्याधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहित सर्बोच्च, उच्च, जिल्ला अदालतका न्यायधिश, बार एसोसिएसनका पदाधिकारीसहितका उच्च पदस्थहरुको सहभागिता रहने जनाइएको छ।
प्रतियोगितामा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कूल अफ ल, राजर्शीको विश्वविद्यालय क्याम्पस, सुदुरपश्चिमको केन्द्रीय क्याम्पस, तुलसीपुर मेट्रो कलेज दाङ, मध्यपश्चिमको ग्रेजुयट स्कूल अफ ल, काठमाडौं स्कूल अफ ल, ब्राइट भिजन ल स्कूल विराटनगर, लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमी, कैलाली क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, नेशनल ल कलेज, चक्रवर्ती एकेडेमी, पृथ्वीनारायण क्याम्पस, काठमाण्डौं युनिभिर्सिटी स्कूल अफ ल, नेपाल ल क्याम्पस, पियु कलेज अफ लमा अध्ययनरत विद्यार्थीहरु सहभागी रहेको उपप्राध्यापक मेघनाथ खनालले जानकारी दिए।
स्कूल अफ ल ले आगामी दिनहरुमा पनि प्रतियोगितामा निरन्तरता दिनेगरी योजना बनाइएको जनाएको छ ।

