
भैरहवा,२०बैशाख। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले एयरपोर्ट (गौतमबुद्ध विमानस्थल) चलाउन नसक्ने प्रधानमन्त्रीले देश कसरी चलाउन सक्ने भन्दै प्रश्न गरेका छन्।
शनिवार पार्टीद्वारा भैरहवामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई तिहाईको सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नमा असफल भएको बताए।
Advertisement

Advertisement
Advertisement

‘यो एयरपोर्ट नचलेका कारण व्यवसायीको पूँजी डुबिरहेको र विमानस्थललाई लक्षित गर्दै सञ्चालनमा आएका होटल र पर्यटन व्यवसाय धरासायी भएका छन्’,उनले भने,‘म प्रधानमन्त्री र अहिलेको पर्यटनमन्त्रीलाई सोध्न चाहन्छु तपाईहरुले किन एयरपोर्ट चलाउनुभएन?’
पूर्वमन्त्री समेत रहेका साहले एयरपोर्ट नचलाउने भए मर्कामा परेका व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरे । ‘व्यवसायी संकटमा छन्, पर्यटक आउँछन् भनेर पर्यटन, होटल व्यवसायीले लगानी गरे। तर, अहिले त्यो लगानी धरापमा छ’उनले भने, ‘म अर्थमन्त्रीलाई भन्न चाहन्छु, सरकारले व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्छ ।’
उनले बुटवललाई लुम्बिनीको प्रदेश राजधानी नबनाएर एमाले र कांग्रेसले ठुलो गल्ती गरेको बताए। ‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ। बुटवल प्रदेशको राजधानी हुन्छ भनेर यस क्षेत्रमा अर्बौको लगानी भयो। तर एमाले र कांग्रेसले सबैलाई डुबाउने काम मात्रै गर्यो। केही नभएको ठाउँमा लगेर प्रदेश राजधानी बनाउने काम गरेर अर्बौ लगानी डुबाउने काम भयो,’ प्रतिनिधि सभा सदस्य समेत रहेका साहले भने ।
नेपाली कांग्रेस र नेकपा एमालेको शक्तिशाली सरकारले काम गर्न नसक्दा जनता, उधोगी, व्यापारी सबै निराश भएको उनले बताए। आईतबार रुपन्देहीमा पार्टीले आयोजना गरेको भ्रष्टाचार बिरुद्धको जागरण सभाका लागि भैरहवा पुगेका साहले सरकारको औचित्यमाथि नै प्रश्न उठाए। उनले अहिलेको सरकार जनताप्रति जवाफदेही नभएको आरोप लगाए ।
उनले अहिले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र व्याप्त भएको र जताततै भ्रष्टाचार मौलाएको टिप्पणी गर्दै वर्तमान सरकारले एकपछि अर्को गरेर मुलुकलाई संकटको भूमरीमा फसाएको आरोप लगाए। उनले अहिले लोकतन्त्रको नाममा देशमा लुट्ने र देश लुटेको कालो धन अवैध तरिकाले विदेशमा पुर्याउन् काम भएको बताए।

