
भैरहवा,२१ बैशाख। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले एउटा गभर्नर नियुक्ति गर्न नसक्ने सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन्।
पार्टीले आइतबार रुपन्देहीको महजिदियामा आयोजना गरेको भ्रष्टाचारको बिरुद्धको खबरदारी भेलालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई तिहाईको शक्तिशाली सरकार आफ्नै भारी बोक्न नसकेर ढल्न लागेको बताए।
Advertisement

Advertisement
Advertisement

‘राष्ट्र बैंकको गभर्नर खाली भएको महिनौ बितेको छ। तर सरकारमै रहेका बीचमा किचलो छ। दुई तिहाईको शक्तिशाली सरकारले एउटा गभर्नर नियुक्ति गर्न सकेको छैन्’,पूर्वमन्त्री समेत रहेका साहले भने, ‘दुई तिहाईको शक्तिशाली केपी शर्मा ओली नेतृत्वको सरकार धर्मराएको छ । यो सरकार आफ्नै भारी बोक्न नसकेर गलेर ढल्दैछ ।’
कांग्रेस र एमाले बीचमा ७ बुँदे सहमती भएर सरकार बनेको १० महिना भए पनि त्यसको एउटा बुँदा पनि अहिलसम्म कार्यान्वयन नभएर सरकार असफल भइसकेको उनले दावी छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम नै कांग्रेसले अपनत्व नलिएको साहले बताए ।
प्रधानमन्त्री केपी ओलीको कुकर्मको साक्षी बस्ने काम कांग्रेस सभापति शेरबहादुर देउवाबाट भइरहेको टिप्पणी गर्दै उनले राजनीतिक संयन्त्रबाट शासन गर्न खोज्दा आलोचित भएपछि कांग्रेस महामन्त्री गगन थापाहरु अहिले बैठकमै जान छोडेको उनले बताए ।
प्रतिनिधिसभा सदस्य समेत रहेका उनले सीमा सुरक्षाको नाममा सशस्त्र प्रहरीले लुट मच्चाएको भन्दै सीमानाको रक्षा गर्ने सीमावर्ती क्षेत्रकै नागरिकलाई सशस्त्र प्रहरी लुटने काम गरिरहेको आरोप लगाए।
किसानलाई आवश्यक मलखाद नदिने तर कमिशनको लोभमा भारतबाट ल्याएको मलखाद खोसिदिने कार्य सरकारको अपराध भएको उनले बताए।

