

काभ्रे,२६ बैशाख । सुन तस्करी प्रकरणको मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ) नागरिकता र राहदानी किर्ते मुद्दामा दोषी ठहर भएका छन्।
जिल्ला अदालत काभ्रे न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले चिनियाँ मुलका बेल्जियम नागरिक दावाले झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएको ठहर गरेको हो। सुन तस्करीको आरोपमा पूर्पक्षका लागि हाल उनी कारागारमा छन् । बेल्जियमको समेत नागरिकता रहेका दावाले काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङको नामबाट नागरिकता बनाएका थिए।



न्यायाधिश आचार्यको इजलासले नागरिकता सम्बन्धी मुद्दामा ५ वर्ष कैद र १ लाख जरिवाना, राहदानी सम्बन्धी मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालत काभ्रे का श्रेस्तेदार कर्णबहादुर राईले बताए।
उनका अनुसार चितवनका राजु गुरुङ, कर्मचारी झपेन्द्रराज खरेललाई झुट्टा विवरण पेश गरी दोहोरो राहदानी दिने र लिने दुवैलाई जनही १५ हजार जरिवाना र १ वर्ष १ महिना कैद सजायको फैसला भएको छ।
नागरिकताको हकमा भने राजु गुरुङ, कर्मचारीद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्याललाई जनही १५ हजार जरिवानाको फैसला भएको छ। राजु गुरुङलाई नागरिकता बेच्ने ठाउँ देखाउने राजुका बुबा हरिभक्त गुरुङलाई सफाइ दिइएको छ।